काठमाडौं । जननेता मदन भण्डारीको जन्मजयन्तीको अवसरमा प्रेस चौतारी नेपालले टिकटक प्रतियोगिता आयोजना गर्नेभएको छ । टिकटक प्रतियोगिताको प्रथम पुरस्कार ५० हजार नगद, द्वितीय पुरस्कार ३० हजार, तृतीय २० हजार र सान्त्वनालाई १० हजार रुपैंया नगद पुरस्कारको व्यवस्था गरेर टिकटक प्रतियोगिता आयोजना गर्न लागेको हो।
टिकटक प्रतियोगिताको निर्णायकमा अभिनेता रमेश उप्रेती, अभिनेत्री बेनिशा हमाल र निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुलीलाई चयन गरेको छ। प्रेस चौतारी नेपालले मदन भण्डारीको जन्मजयन्ती असार १४ गतेको अवसरमा हरेक बर्ष विविध कार्यक्रम आयोजना गर्दै आएको छ । प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतको अध्यक्षतामा बसेको बैठकले यस बर्ष टिकटक प्रतियोगिता गरी रचनात्मक रुपमा मनाउने निर्णय गरिएको जनाएको छ।
प्रतियोगिताको संयोजक प्रेस चौतारी नेपालका उपाध्यक्ष गणेश पाण्डे रहेका छन्। यसैगरी, सदस्यहरुमा कोषाध्यक्ष इन्द्र आचार्य, सचिव कमलप्रसाद उपाध्याय, विष्णु तारुके, प्रदीप आचार्य, लोग्सरी कुँवर र समीर बलामी छन् ।
प्रकाशित मिति: शुक्रबार, असार ८, २०८० २२:४२