काठमाडौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले चलचित्र ‘नीरफूल’ हेरेको छ ।
मन्त्री सुदन किरातीले शनिबार बेलुकी सिभिल मलस्थित क्युएफएक्समा चलचित्रका निर्देशक फूलमान वल, अभिनेताद्वय दयाहाङ र बुद्धि तामाङसँगै चलचित्र हेरेको हो ।
“भूकम्पले समाजमा पारेको प्रभाव, मान्छेको सानो सपनाले दिएको ठूलो दुःख, चलचित्रले अनगिन्ती प्रश्न उठाएको छ। मुख्यतः सहर र गाउँबीचको सामाजिक, सांस्कृतिक सवाल बेजोडसँगले प्रस्तुत भएको रहेछ”, मन्त्री किरातीले सामाजिक सञ्जालमा उल्लेख गरको छ। आफूले चलचित्रमार्फत दिन खोजेको सन्देशलाई मन्त्री किरातीले महसुस गरेको निर्देशक वलले बताए।
विसं २०७२ को भूकम्पको सेरोफेरोमा कथा भनिएको चलचित्रले विपत्तिपछि धादिङस्थित रुबी भ्यालीको एक परिवारले भोग्नुपर्ने समस्या र बिछोडको दुर्दान्त पेस गर्छ।
राज्य प्रणालीको कमजोर पक्षसमेत उजागर गरिएको चलचित्र गणेश हिमालमुनिको रुबी भ्याली, रसुवा र काठमाडौँमा छायाङ्कन गरिएको निर्देशक वलले जानकारी दिए।
चलचित्र गत जेठ २६ गतेदेखि प्रदर्शनरत छ।
प्रकाशित मिति: आइतबार, असार १०, २०८० ०९:२५