काठमाडौ । काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि २५ अर्ब ५४ करोड ७८ लाख २० हजारको बजेट विनियोजन गरेको छ।
राष्ट्रिय सभागृहमा उपप्रमुख एवं बजेट तथा कार्यक्रम तर्जुमा समितिका संयोजक सुुनिता डङ्गोलले सार्वजनिक गरेको बजेटमा चालुतर्फ ८ अर्ब ६१ करोड ५३ लाख २८ हजार र पुँजीगततर्फ १६ अर्ब ९३ करोड २४ लाख ९२ हजार बजेट नियोजन गरिएको हो।
कामपाले चालु आवका लागि २५ अर्ब ४१ करोड ९६ लाख ९६ को बजेट विनियोजन गरेको थियो । चालु अवाको तुलनामा आगामी आवको बजेट करिब १४ करोडले बढी हो ।
आगामी आवको बजेटमा स्वास्थ्य, शिक्षालाई र पूर्वाधारलाई प्राथमिता साथ बजेट विनियोजन गरिएको छ । जसअन्तर्गत पूर्वाधारमा सबैभन्दा धेरै ७ अर्ब ३४ करोड ६४ लाख ७१ हजार, शिक्षामा १ अर्ब ३२ करोड र स्वास्थ्यमा ९२ करोड ६६ लाख ४४ हजार बजेट विनियोजन गरिएको छ।
बजेटमा भौतिक पूर्वाधार विकास, फोहरमैला व्यवस्थापन, लैङ्गिक समानता र सामाजिक समावेशीकरण, भाषा, संस्कृति तथा सम्पदा संरक्षण र प्रवद्र्धनजस्ता विषयले समेटिएका छन् । आगामी आर्थिक वर्षका लागि महानगरलाई सङ्घीय सरकारबाट २ अर्ब १४ करोड ३१ लाख प्राप्त भएको छ ।
कामपाले १० विषयगत क्षेत्रका महानगर गौरवको योजनाका लागि ३ अर्ब ८० करोड विनियोजन गरेको छ । महानगर स्वर्णिम योजना अन्तर्गत २५ वटा विषयगत क्षेत्रका योजनाका लागि २ अर्ब विनियोजन गरिएको उपप्रमुख सुनिता डङ्गोलले जानकारी दिए।
वडाबाट प्राप्त योजनालाई प्राथमिकता प्राप्त योजनामा राखी त्यसका लागि १ अर्ब ७६ करोड विनियोजना गरिएको छ। फोहरमैला व्यवस्थापनका लागि ७ करोड विनियोजन गरिएको छ ।
बजेटमा ‘गरिखाने शिक्षा, महानगरको इच्छा’ योजनाका लागि ५० करोड बिनियोजन गरिएको छ ।
प्रकाशित मिति: आइतबार, असार १०, २०८० १४:२९