“ए भाइ !, यो काउली कसरी दिएको हो ?” “काउली महँङ्गो भयो दाइ ! पुरानो भाउमा दिन मिल्दैन अब ।”
“किन नि ?”
“सरकारले मलमा पनि राजनीति गर्न थाल्यो । अब भाउ नबढाएर के गर्नु !” “काउलीमा त घरकै मल प्रयोग गरे भइहाल्यो नि । किन सरकारको मुख ताकेर बस्नु ?”
“पहिले जस्तो कहाँ छ र दाइ ! सबैको घरमा ढल बनि सक्यो । सेफ्टी ट्याङ्की भएको घर पाउनै गाह्रो छ । कहाँबाट लेराउनु काउलीलाई मल!” “ढल गएर मिसिने खोलामा नै हो । त्यहि खोलाको पानी लेराएर हाल्यो भने भइहाल्यो नि।”
“कहाँ हुन्छ र दाइ! त्यो पानीमा त काउली, मुला अनि सागपात धुनु पर्छ । धारमा पानी आउँदैन, ढुङ्गे धारा सुकी सक्यो । इनार भन्ने नाम मात्र को हो । नधोई लेरायो भने तपाईहरु नै गाली गर्नुहुन्छ फोहोर भयो भनेर । धुनु त पर्यो नि, हैन र ?” “ए त्यसो भए पुरानो भाउमा नदिने ? साग दिने त ?”
“साग पनि महँगो भयो । तपाई संधै आउने मान्छे, ल आजलाई पुरानै भाउमा लिएर जानुस् ।” “ए साग लिन आउनु भएको ? कसरि दिएको रहेछ ? म त त्रिशुलीको माछा पाइन्छ कि भनेर हेर्दैछु ।”
“त्रिशुलीको माछा त्रिशुलीमै गएर खोज्दा पनि पाइदैन । यहाँ के पाइनु । कताकता बाट बटुल्छन् अनि त्रिशुलीको भन्दै बेच्छन् ।”
“त्यहि त ! छोरी हेर्न केटा पक्ष आउने भन्या छन् । यसो माछा मासु पकाएर स्वागत गरु भन्ठानेको । रहर मात्रै होला जस्तो छ ।” “छोरीको पनि बिहे गर्ने बेला भइसक्यो हगि ?” “होत नि । २५ पुगीहाली । अब राम्रो केटाको कुरा आएकोले उसले पनि हुन्छ भनि, मैले त शुर कसे ।”
“ल ! बधाई छ ! त्यसो भए ।”
“धन्यवाद ! त्यतातिर राम्रो चम्सुर पालुङ्गो रहेछ । एक चोटी भाउ सोध्नु पर्यो ।” “ल त, म चाहीँ मुला लिन तिर लागेँ, यसो बेलुकालाई सितन।” “ककनीको मुला हो बाजे । राम्रो, मिठो अनि सस्तो ।” “ककनी नगएको पनि थुप्रै भयो त हो ।यो मुलाले सम्झाई दियो ।”
“घर नजिकैको मन्दिर जान सकेको छैन आफू । ककनी त टाढै छ ।” “त्यो मन्दिर जानु भन्दा त नजानु वेश । खुट्टा टेक्ने ठाउँ हुँदैन । फेरी धर्मको नाममा मोज गर्नेहरुले बोका, कुखुरा काटेर रगतको खोलो नै बगाउँछन् ।”
“त्यै त भन्या ! कस्तो रुप लिंदै गयो सबै कुराले । कस्तो राम्रो गोलभेडा रहेछ । कति हो यसको भाइ ?” “सलाद खाने गोलभेडा हो दाइ । मिलाएर दिन्छु नि, कति चाहियो ?” “पिउँदा खेरि सलाद पनि भएको त राम्रै हो । एक किलो हाली देउन ।”
“अस्ति पिएको ब्रान्ड त त्यति मिठो थिएन हो । नक्कली ब्रान्डले पनि हैरान पारी सक्यो आजभोलि । के भएछ त्यहाँ, भिड त ठुलै छ।” “पाकेटमारले ब्याग थुतेर भागेछ । ति महिलाको गहना पनि ब्यागमै थियो रे ।”
“तरकारी किन्न आउँदा पनि के गहना बोकेर आएको होला ! बुढीले पाएदेखि तामा लेराउनु भन्थी । म त खोज्न थाले है।” “घरमै बनाको तामा हो हजुर । मिठो छ । कति दिउ ?” “एकपाउ जति दिनुस् न त । नाङ्ग्लोमा यसरि बेच्न बस्दा आउला नि पुलिस फेरि।”
“आइरहन्छन् तिनीहरु हामीलाई दुःख दिन । गरिबलाई जता गए पनि दुःख नै त हो ।” “के को हल्ला हो त्यतातिर ? तामा भयो ? पुलिस आएको जस्तो छ है नाङ्ग्लो उठाउनु पर्ला जस्तो छ ।”
“बालुवा थुपारेर सडक ओगटेर बस्नेलाई चाहि केहि गर्दैन, हाम्रो एउटा नाङ्ग्लो चाहि धेरै भा छ यी पुलिसलाई ।”
“घर बनाउनेहरुले बालुवा इँटा बाटोमा थुपारेर पनि बिजोगै छ भन्या ।”
“त्यै त अस्ति त्यो घर अगाडी थुपारेको रोडामा ठोक्किएर मोटरसाइकल दुर्घटना हुँदा हाम्रो घरमा बस्ने कृष्णेको हात नै भाच्चिएको । त्यो पनि आँखा नहेरी दौडाउँछ ।”
“बाटो सानो, मोटरसाइकलको ताँती हरेक दिन बढदो छ । त्यसमा पनि मापसे गरे पछि त हुन सम्म हुन्छ ।”
“मापसे को धुनमा कमाउन पल्क्या छन् कोहि । खै कसलाई के भन्नु ?” “सबैलाई आ–आफ्नै चिन्ता । अरुलाई जे सुकै होस् के मतलब।”
“त्यतातिर सवारी छ कि क्याहो कसैको? बाटो बन्द गर्या छ त !” “कतै बाटोमा बालुवा थुपारेर बन्द, कतै कसैको सवारीले बन्द । हामी चाहि कताबाट हिड्ने हो?”
“हैन यी ठूला भनाउँदाहरुलाई कतै जानु पर्यो कि बाटो बन्द गर्नु पर्ने । के को डर हो यिनीलाई ? हुन त राम्रा काम गरेको भए डर के को हुन्।”
“राम्रो काम गर्ने को पो छर यहाँ। जो हेर्यो त्यहि बेइमान लाग्छ मलाई त । त्यहाँ हेर्नुस त त्यो मासु पसलमा झिंगा भन्केको । छ्या छ्या त्यस्तो पनि बेच्नु। यस्तै भएर हो म भेजिटेरियन भएको ।”
“ओहो कस्तो कालो निलो भएर आयो त आकाश।” “हो ! घनघोर पानी पर्ला जस्तो छ । जानु पर्ला जस्तो छ घर तिर । खै मुला बाहेक किन्न पाइएन आज। लागे है त ।”
“भेट्दै गरुँला नि फेरि फेरि ।”
“नमस्ते”
नामी साप्ताहिक
प्रकाशित मिति २०८० साल असार ८ गते शुक्रवार