काठमाडौ । नारायणविशाल जोशी स्मृति प्रतिष्ठानको नवनिर्मित भवन उद्घाटन तथा पूर्णकदको प्रतिमा अनावरण कार्यक्रम सम्पन्न भएको छ।
सोही अवसरमा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले राजनीतिक क्रान्तिको काम सम्पन्न भए पनि समाजादको स्थापना गरी जनताको जीवनलाई आमूल परिवर्तन गर्ने जिम्मेवारी बाँकी नै रहेको बताएको हो।
“समाजवादको स्थापना गर्दै जनताको जीवनमा आमूल परिवर्तन ल्याउने मुख्य जिम्मेवारी कम्युनिष्ट पार्टीले मात्रै पूरा गर्न सक्छ”, उनले भने, “अहिले त्यो जिम्मेवारी पूरा गर्ने कार्यको नेतृत्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गरिरहनुभएको छ।”
नेकपा एमाले अनुशासन आयोगका अध्यक्ष अमृतकुमार बोहराले देशमा वामपन्थीको ठूलो जनमत हुँदा पनि कम्युनिष्ट आन्दोलन कमजोर बनेको बताउँदै उनले भने, “अहिले कम्युनिष्टहरु विभाजित भएर होइन, जुटेर सबै एकैठाउँमा बसेर जानुपर्ने बेला आएको छ।”
मध्यपुरथिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले नगरपालिकाले शिक्षा र स्वास्थ्यका क्षेत्रमा ठूलो बजेट लगानी गरेको बताउँदै प्रतिष्ठानको भवनमा स्वास्थ्य क्लिनिक र आयुर्वेदिक अस्पताल सञ्चालन गर्न नगरपालिका तयार रहेको बताए ।
प्रतिष्ठानका कोषाध्यक्ष सुशीला सुवेदीले नारायणविलास जोशीको भवन निर्माण र सालिक स्थापनामा स्थानीय निकाय, प्रदेश सरकार एवं विभिन्न निकायबाट बजेटको व्यवस्थापन भएको बताएका थिए ।
प्रतिष्ठानका अध्यक्ष एवं बागमती प्रदेशसभाका कृषि तथा पशुपक्षी विकास्मन्त्री डा राजेन्द्रमान श्रेष्ठले कम्युनिष्ट पार्टीका पाँच संस्थापकमध्येका एक जोशीको योगदानलाई सधैँ जीवत राख्न प्र्रतिष्ठानले आफ्नै भवन निर्माण गर्दै प्रतिमा स्थापना गरेको बताए। उनको योगदानलाई कम्युनिष्ट पार्टीले बिर्सन नहुनेमा जोड दिँदै कम्युनिष्टलाई एकताबद्ध बनाउन सबै नेतृत्व लाग्नुपर्ने औल्याएका थिए।
प्रतिष्ठानको भवन निर्माणका लागि प्रदेश पूर्वाधार विकास साझेदारी कार्यक्रम (सांसद कोष) बाट ९५ लाख ६४ हजार ७ सय ७८, चाँगुनारायण नगरपालिकाबाट २४ लाख १० हजार ६ सय ६५, सूर्यविनायक नगरपालिकाबाट २२ लाख ६९ हजार १ सय ९४ प्राप्त भएको छ।
साथै सार्वजनिक निर्माण कार्यान्वयन कार्यालय गजुरी, धादिङबाट ३५ लाख ९६ हजार ४ सय, सहरी विकास तथा भवन कार्यालय कुलेश्वर, काठमाडौँबाट ९ लाख ८८ हजार १ सय ९८, संस्थाबाट योगदान ११ लाख र ऋण दायित्व ४५ लाख गरी कूल २ करोड ४४ लाख २९ हजार २ सय ३५ खर्च भएको प्रतिष्ठानका सचिव महेन्द्रगोपाल कर्माचार्यले जानकारी दिएका थिए।
प्रकाशित मिति: आइतबार, असार १७, २०८० १५:५२