परिस्थितिको भारले थाकेर
सेलाएकी म
निराशाको खास्टोले बेरिएर
मस्त निद्रामा निदाएकी
शब्दहरूसँग हतासिएर
शून्यतामा हुत्तिदै
अभाव र आबश्यकताको भुङ्ग्रोले
सेकिएकी म
जिन्दगीका केही भोगाइ
केही धमिलो अदृश्य
र
अनगिन्ती ईच्छाहरुलाई
फर्मालिनमा डुबाई
मौनतामा अल्झिरहेकी थिए।
अनायास निराशाको बादल हटेर
निदाएकी मलाई ब्यूझायो
र म मान्छे भित्रको मान्छे बोध
भयो
र उर्जा थपियो यतिखेर
तब त म पुनः
कवितामा जीवन खोजिरहेकी छु
कविता जस्तो कविता लेख्न
मनभित्र उर्लिएको भेल
बाँध बाँध्दै
हरेक दिन नयाँ कवितामा
खुशी र सुखको
शिरानीमा
सुखानुभुती गरि रहेको छु
चौडा छातिको आडमा
धन्य कविता!!
मान्छे भित्रको मान्छे ।
प्रकाशित मिति: बिहीबार, जेठ २७, २०७८ २२:१२