काठमाडौ । नेपाल प्रहरीले माल्टा पठाई दिन्छु भनी ५ लाख ८५ हजार ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ ।
प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले माल्टामा मासिक १ लाख तलब हुने कम्पनीमा जागिर लगाई दिन्छु भनेर ५ लाख ८५ हजार ठगी गर्ने गोरखा पालुङटार नगरपालिका घर भई हाल काठमाडौँको तारकेश्वर नगरपालिका बस्ने २९ वर्षीय सुस्मा तामाङलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।
कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले १ लाख तलब हुने माल्टाको कम्पनीमा जानका लागि ६ लाख लाग्छ भनी ५ लाख ८५ हजार लिएर ठगी गरेको आरोपमा तामाङलाई पक्राउ गरिएको जानकारी दिएका हुन् ।
पक्राउ परेका तामाङलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहचल पठाइएको प्रवक्ता रेग्मीले बताए।
प्रकाशित मिति: सोमबार, असार २५, २०८० १९:३७