म्याग्दी । म्याग्दीको मंगला गाउँपालिका-४ उपल्लो बुकेनीका दलबिर पुनले भने बर्खा याममा बेमौसमी बन्दा उत्पादन गरेको छ।
समुन्द्रि सतहदेखि दुई हजार दुई सय मिटर उचाईको उपल्लो बुकेनीमा रहेको एनएमडी कृषि तथा पशुपंक्षी फर्ममा बेमौसमी बन्दा उत्पादन भएको हो। ३७ वर्षीय दलबिर पुनले १५ रोपनी बरामीमा ‘ग्रिन क्रोनेट’ जातको बन्दा खेती गरेको बताए ।
पानी खप्न सक्ने र चिसो हावापानीमा गर्न सकिने ग्रिन क्रोनेट जातको बेमौसमी बन्दा खेतीले पुनको फार्म हराभरा भएको छ। तीन वर्षदेखि टमाटर खेती गर्दै आएका पुनले यस वर्ष बेमौसमी बन्दा खेती गरेको हो ।
उनको फार्ममा हाल ५ वटा सेमी हाइटेक टनेलमा टमाटर उत्पादन भएको छ । खुल्ला टनेलमा हावाहुरी र असिनाले क्षति गरेपछि कृषि ज्ञान केन्द्रको सहयोगमा सेमी हाइटेक टनेल बनाएको पुनले बताए ।
पुन विसं २०५७ देखि २०६८ सम्म तत्कालीन माओवादीले सञ्चालन गरेको ‘जनयुद्ध’मा जनमुक्ती सेनाको रुपमा सहभागि भएको थियो।
नेकपा (माओवादी केन्द्र)को वडा कमिटि अध्यक्ष रहेका पुन दहवन शिविरबाट स्वच्छिक अवकास लिएपछि करिब पाँच वर्ष रोल्पामै ब्यापार, व्यवसाय गरेको थियो।
सात वर्षअघि घर फर्किएर २१ रोपनी जग्गा किनेर कृषि फार्म स्थापना गरेको थियो । मसलेदार फल टिम्मुर पनि खेती गरेका पुनको जडिवुटी खेती गर्ने योजना बनाए ।
सिचाई सुविधा र चिसो हावापानी भएकाले तरकारी खेती प्रभावकारी भएको छ । सडक पुगेपनि यातायातको असुविधाका कारण ढुवानीमा धेरै खर्च हुने, बजारमा ब्यापारिले भनेको मुल्यमा सामान बेच्नुपर्दा समस्या भएको पुनले बताए।
बेनी, बाग्लुङमा खपत नभएको तरकारी पोखरा पठाउने गरेको छ । सामाजिक सञ्जाल फेसबुक मार्फत तरकारीको बजारी गरेको पुनले बताए।
प्रकाशित मिति: बिहीबार, असार २८, २०८० २०:५७