म्याग्दी । म्याग्दीसँग सिमाना जोडिएको बागलुङको ताराखोला गाउँपालिकाका बासिन्दाका लागि आलुखेती प्रमुख आम्दानीको स्रोत बनेको छ ।
म्याग्दीको मालिका र मंगला गाउँपालिकाको सिमानामा रहेको ताराखोला गाउँपालिका-४ र ५ वडाका बासिन्दाले आलुखेतीलाई प्रमुख आम्दानीको माध्यम बनाएका हुन् ।
समुन्द्रि सतहदेखि करिब एक हजार आठ सय मिटर उचाईमा रहेको ताराखोलाका कृषकलाई बारीमा फलेको आलु भित्र्याउन, भण्डारण गर्न र बजार पठाउने चटारो छ।
सडक यातायातको सुविधा भएपछि ताराखोलामा उत्पादन भएको आलु बागलुङ, म्याग्दी, पोखरा र काठमाडौमा पुग्न थालेको हो।
आलु निकासी हुन थालेपछि स्थानीयबासीले खेती विस्तार गरेका छन् । पाहुनालाई आलु खुवाउनेदेखि कोसेली पठाउने गर्छन्। व्यक्तिगत जमिनका साथै ताराखोला बहुउद्देश्यीय सहकारी संस्था मार्फत आलु खेती गरिएको छ ।
गत वर्ष सात लाख १२ हजार पाँच सय ६८ किलो आलु उत्पादन भएको ताराखोला गाउँपाकिलाको कृषि शाखाको तथ्याङ्क छ।
मौसम अनुकुल र रोगकिराको समस्या नभएकाले यो वर्ष उत्पादन बढेको कृषकले बताएका छन् । ताराखोलाको आलु प्रतिकिलो ४० र एक पाथीको २ सयमा बिक्री हुने गरेको छ ।
ताराखोला गाउँपालिकाले आलु खेती विस्तारका लागि जोन कार्यक्रम सञ्चालन, आलु भण्डारण स्थल निर्माण, सहकारी मार्फत सामुहिक आलु खेती गर्न अनुदान र बजारीकरणमा सहयोग गरेको अध्यक्ष धनबहादुर बिकले बताए।
प्रकाशित मिति: शनिबार, असार ३०, २०८० १८:०६