काठमाडौँ । दुईवटा छुट्टा-छुट्टै कार्यक्रमका लागि नेपाल र युरोपेली युनियन (ईयु) बीच साढे १० अर्बभन्दा बढीको अनुदान सम्झौता सम्पन्न भएको छ।
अर्थमन्त्रालयमा आयोजित एक कार्यक्रमका बीच नेपालको शिक्षा र वातावरण क्षेत्रमा खर्च गर्नेगरी उक्त अनुदानसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो।
‘सबैका लागि गुणस्तरीय शिक्षा (क्वालिटी एजुकेसन फर अल) कार्यक्रम’ र ‘स्थानीयस्तरमा जलवायु परिवर्तन अनुकुलन (लोकल एडप्सन टु क्लाइमेट चेन्ज) कार्यक्रम’ का लागि उक्त अनुदान सम्झौता भएको हो ।
सबैका लागि गुणस्तरीय शिक्षा कार्यक्रमअन्तर्गत विद्यालय शिक्षा क्षेत्र योजना कार्यान्वनयका लागि पाउन्ड स्टर्लिङ पाँच करोड अर्थात् ७ अर्ब ३८ करोड बराबरको अनुदान सम्झौता भएको छ ।
त्यस्तै, लोकल एडप्टेसन फर क्लाइमेट चेन्ज कार्यक्रमका लागि पाउन्ड स्टर्लिङ दुई करोड २० लाख अर्थात् रू तीन अर्ब २५ करोड बराबरको सम्झौता भएको हो।
यी दुवै कार्यक्रमका लागि पाउन्ड स्टर्लिङ सात करोड २० लाख अर्थात् रू १० अर्ब ५३ करोड बराबरको अनुदान ईयुबाट नेपालले पाउनेछ।
सरकारी तथा सामुदायिक विद्यालयमा शिक्षाको गुणस्तर बढाउनका लागि सबैका लागि गुणस्तरीय शिक्षा कार्यक्रममार्फत् यो रकम खर्च गरिने अर्थसचिव अर्जुनप्रसाद पोखरेलले बताए।
“यो कार्यक्रमले सबैलाई गुणस्तरीय शिक्षामा पहुँच बढाएर मानव पुँजी विकासका लागि महत्वपूर्ण योगदान पुर्याउनेछ भन्ने अपेक्षा गरिएको छ”, सम्झौतामा हस्ताक्षर गर्दै अर्थसचिव पोखरेलले भने।
त्यस्तै, सबै नेपाली नागरिकको शिक्षामा पहुँच बढाई गुणस्तरीय सिकाईका क्षेत्रमा सहयोग गर्ने नीतिलाई निरन्तरता दिइने ईयुले जनाइएको छ।
“ईयुले नेपालको शिक्षा क्षेत्रमा २० वर्षदेखि सहयोग गर्दै आएको छ । गुणस्तरीय शिक्षा क्षेत्रमा थप लगानी गर्ने हाम्रो प्रतिवद्धता छ”, ईयु कमिस्नर फर इनटरनेसनल पार्टनरसिप युट्टा आर्पिलाइनेनले भने ।
प्रकाशित मिति: शुक्रबार, साउन ५, २०८० १९:२२