काठमाडौ । मुलुकमा यस वर्षको मनसुन भित्रिएको छ । पूर्वी भेगबाट शुक्रबार प्रवेश गरेको मनसुन प्रदेश १, २ हुँदै प्रदेश न ३ वागमतीमा फैलिएको हो ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् वरुण पौडेलले प्रदेश नं १, प्रदेश नं २ र वाग्मती प्रदेशका जिल्लामा मनसुन भित्रिएको जानकारी दिए । पौडेलका अनुसार यो देशव्यापी हुन भने अझै २/३ दिन लाग्नेछ ।
मौसमविद्हरूले आगामी साता मनसुन सक्रिय भई देशका अधिकांश स्थानमा हल्कादेखि मध्यमखालको वर्षाको प्रक्षेपण गरेका छन्। केही स्थानमा भने भारी वर्षाको समेत सम्भावना रहेको मौसमविद् पौडेलले जानकारी दिएका छन् ।
अबका केही दिन मौसमी गतिविधि बढ्ने भएकाले आवश्यक सतर्कता अपनाउन जल तथा मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।
यस वर्ष नेपालमा विगत वर्षभन्दा धेरै वर्षा हुने अनुमान मौसमविद्ले गरेका छन् । साधारणतया अङ्ग्रेजी महिनाको जुन १३ देखि सेप्टेम्बरसम्मको ४ महिनालाई नेपालसहित दक्षिण एशियाली क्षेत्रको मनसुन अवधि मानिन्छ ।
प्रकाशित मिति: शनिबार, जेठ २९, २०७८ १५:५७