भरतपुर । भरतपुर महानगरपालिकाले महानगरभित्र रहेका ठूला अस्पतालको क्यान्टिनमा अनुगमन गरेको छ।
अनुगमन क्रममा अधिकांश क्यान्टिनमा सरसफाइको अभाव देखिएको भरतपुर-१० का वडाध्यक्ष परमेश्वर खनालले बताएको हो।
वडाध्यक्ष, महानगरको बजार अनुगमन समिति सदस्य, जनपथ प्रहरी, नगर प्रहरी, पत्रकारसहितको टोलीले अस्पतालका क्यान्टिन एवं अस्पताल वरपर रहेका होटलको टोलीले सोमबार अनुगमन गरेको हो ।
चितवन मेडिकल कलेज, कलेज अफ मेडिकल साइन्सेन,भरतपुर अस्पताल र नारायणी सामुदायिक अस्पतालका क्यान्टिनको अनुगमन गरिएको खनालले जानकारी दिए ।
भरतपुर महानगरपालिकाको उपभोक्ता हित संरक्षण शाखाका प्रमुख थानेश्वर सापकोटाले सोमबार भरतपुर महानगरपालिकाले १३ वटा होटेल तथा किराना पसलमा अनुगमन गरेको बताए ।
उनले प्रारम्भिक चरणमा जरिवाना तिराएर सचेत गराइएको भन्दै पुनः सोही अवस्था दोहोरिए बन्द गराइने चेतावनी दिए। अनुगमन गरेकामध्ये अधिकांशमा म्याद सकिएका सामान र होटेलहरुले सरसफाइमा ध्यान नदिएको भेटिएको भरतपुर महानगर पालिका उपभोक्ता हित संरक्षण समितिका अनुगमन टोलीका संयोजक विष्णु बहादुर भुजेलले जानकारी दिए।
उनका अनुसार पाँच वटा होटेलमा ताला लगाइएको छ। पुरानो मेडिकल कलेजभित्रका दुई वटा होटेल, पुरानो मेडिकल अगाडिको सयपत्री खाजा घर, एभरेष्ट मःम ल्याण्ड र नारायणी सामुदायिक अस्पतालको क्यान्टिन बन्द गराइएको उनले बताए।
सरसफाइमा ध्यान नदिएको, अस्पताल अगाडि चुरोट, गुट्का लगाएतको सामान बेचेको तथा दर्ता नगरेको कारण बन्द गराइएको हो।
त्यसैगरी हाकिमचोकमा रहेको आरसी किराना पसल समेत बन्द गराइएको छ । त्यहाँ म्याद सकिएका खाद्य वस्तु थिए। अखाद्य वस्तुलाई महानगरले जफत गरेर नष्ट गरेको छ।
प्रकाशित मिति: मंगलबार, साउन ९, २०८० १६:४९