बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ नारच्याङमा अवस्थित नर्थ अन्नपूर्ण आधार शिविरमा रहेको ‘पञ्चकुण्ड ताल’ पर्यटकको आकर्षण बनेको छ।
समुद्री सतहदेखि ४१०० मिटर उचाईमा करिब २० हजार बर्गमिटर क्षेत्रफलमा फैलिएको यो ताल अन्नपूर्ण हिमाल आरोहण र आधार शिविरको भ्रमणमा जाने पर्यटकहरुको मुख्य आकर्षण बन्ने गरेको छ ।
यस क्षेत्रमा पुग्ने पर्यटकहरु हिमालको फेदीको उपत्यकामा आकासे निलो रङ्गको पानीले भरिएको तालको अवलोकन गर्दा मोहित भएर फर्कने गरेका छन्।
आधार शिविरबाट वरीपरि घेरिएको हिमाल, हिमालको फेदीमा रहेको विशाल ताल नै यहाँको प्रमुख आकर्षण बनेको छ । ग्लेसियर क्षेत्रमा फैलिएको यो हिमताल हिउँदयाममा विभिन्न पाँच कुण्डको आकृतिमा देखिने भएकाले कुण्डको नाम पञ्चकुण्ड नामाकरण गरिएको नारच्याङका पर्यटन व्यवसायी तेज गुरुङले बताए।
उनका अनुसार, सन १९५० तीर हिमाल आरोही लिएर आएका शेर्पाहरुले यस तालको नाम डिकिचो ताल भनेर नामाकरण गरेका थिए। हिमालको फेदिमा उच्च उँचाईमा रहेको कारण पानी जमिरहने भएकाले जम्ने तालको अर्थका रुपमा शेर्पाहरुले डिकिचो ताल नामाकरण गरेको भएपनि पछि स्थानीयबासीले तालको भू–वनोटका आधारमा पञ्चकुण्ड नामाकरण गरेका हुन्।
नारच्याङदेखि ‘मौरिस हर्जोग पदमार्ग हुँदै एक देखि दुई दिनको यात्रामा पञ्चकुण्ड तालमा सजिलै पुग्न सकिन्छ। आधार शिविर क्षेत्रको भ्रमणमा जाने पर्यटकहरुका लागि कुण्ड नै पहिलो र प्रमुख आकर्षणको रुपमा रहेको छ ।
निलो रङ्गले भरिएजस्तै देखिने पञ्चकुण्ड ताल परिसरबाट अन्नपूर्ण हिमालका साथै फ्रेन्क, तिलिचो र निलगिरि हिमालको मनमोहक दृष्य फन्को मारेर अवलोकन गर्न सकिन्छ ।
वरीपरि हिमालले घेरिएको उपत्यकामा निलो तालको मनमोहक प्राकृतिक सौन्दर्य लोभलाग्दो देखिन्छ । बाईट अमृत सुवेदी, प्रमुख प्रशासकीय अधिकृत, अन्नपूर्ण गाउँपालिका, म्याग्दी सन १९५० जुन ३ तारिकका दिन फ्रान्सका मौरिस हर्जोगले अन्नपूर्ण प्रथम हिमालको आरोहण गर्नुभएको थियो ।
हर्गोजले आरोहणका लागि आधार शिविर जान प्रयोग गरेको पदमार्गलाई पछ्याउँदै वि।स। २०६८ मा ‘मौरिज हर्जोग पदमार्ग’को पहिचान गरिएको थियो। नारच्याङको हुमखोलासम्म सवारी साधन र त्यहाँबाट २२ किलोमिटर पैदलयात्रा गरेर एकैदिनमा आधार शिविर पुग्न सकिन्छ।
प्रकाशित मिति: बिहीबार, साउन ११, २०८० १७:५५