खाँदबारी। संखुवासभाको तुम्लिङटार विमानस्थल देशकै पहाडी जिल्लाको कालोपत्रे गरिएको लामो विमानस्थल हो ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले तुम्लिङटार विमानस्थलमा जेट इन्जिन भएका निजी र सरकारी विमान कम्पनीलाई उडान भर्न अनुमति दिएको छ।
ठूला जहाज भएका विमान कम्पनीले जहाज ल्याउन आनाकानी गरेपछि हवाईभाडा आकाशीएको छ। १५ सय मिटर लामो विमानस्थलको उचाई समुद्री सतहबाट ४ सय ५७ मिटर छ ।
धावनमार्ग कालोपत्रे गर्ने काम सकिएपछि करिब ३ वर्षअघि नेपाल नागरिक उड्ययन कार्यालयले कोशी प्रदेशकै व्यस्त मानिने यो विमानस्थलमा ठूला जहाजलाई उडान अनुमति दियो ।
तर, एउटा मात्रै बिमान कम्पनीले दैनिक उडान भर्दा भाडादरमा भने मनोमानी बढेको छ । अहिले बुद्धको ७२ सिटे विमानले मात्रै उडान भर्दै आएको छ। तुम्लिडटार काठमाण्डौको भाडादर ७ हजार २ सय छ ।
यो विमानस्थल विराटनगर विमानस्थलभन्दा सय मिटर मात्रै सानो छ । निजी बिमान कम्पनी बीच प्रतिस्पर्धा नहुँदा हवाई भाडामा मनोमानी बढेको यात्रुले गुनासो गरेका छन्। निजी विमान कम्पनी सेवामूलक भन्दा पनि नाफामूलक भएको यात्रुको गुनासो छ।
प्रतिस्पर्धा गर्ने अरु विमान कम्पनी नहुँदा एकलौटी रुपमा उडान भर्दै आएको बुद्ध एयरले टिकटको मूल्य घटाएको छैन। गाडीबाट यात्रा गर्दा समयमा नपुगिने भएकाले भाडा महँगो भए पनि हवाई सेवा रोज्न बाध्य बनेको यात्रुको भनाई छ ।
सुविधा सम्पन्न बनेको तुम्लिङटार विमानस्थलमा अन्य एयरलाइन्स कम्पनीहरुले पनि उडान भर्नुपर्ने स्थानीय बासिन्दाले माग गरेका छन्।
प्रकाशित मिति: सोमबार, साउन २२, २०८० १६:५७