काठमाडौ । मुग्लिन-मलेखु सडक विस्तारको काम चितवन खण्डमा पनि सुरु भएको छ ।
इच्छाकामना गाँउपालिका ३ चुम्लिङटारबाट सडक विस्तारको काम सुरु गरिएको हो ।
यसअघि यो खण्डको धादिङको मलेखुबाट काम सुरु भइसकेको छ । मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम बर्खाको समयमा पनि निरन्तर भइरहेको नागढुङ्गा-मुग्लिन सडक आयोजना (पश्चिम खण्ड) का प्रमुख किरण कार्कीले जानकारी दिए।
उनले नागढुङ्गा-मुग्लिन सडक आयोजनाअन्तर्गत पश्चिम खण्डको मुग्लिन-मलेखु सडकखण्डक स्तरोन्नतिको काम तीब्र गतिमा भइरहेको छ।
उनान्चालीस किलोमिटर लामो सडक निर्माणको जिम्मा पाएको शर्मा जेडआइसिजी जेभीले सडक विस्तार र स्तरोन्नति गर्न गरिरहेको कार्कीले बताए। उनका अनुसार पहिलो चरणमा मलेखुदेखि चितवनको चुम्लिङटारसम्म विस्तारको काम भइरहेको छ।
शर्मा जेडआइसिजी जेभीका कन्सटक्सन म्यानेजर शिव प्रसाद लामिछानेले चैतदेखि यो सडकखण्डको काम तीब्र गतिमा गरिरहेको बताए। उनले बर्खाको समयमा निर्माणको कामलाई जारी राखेको बताए ।
‘बर्षाले असर नगर्ने ठाँउमा काम भइरहेको छ,उनले भने, पहिरो नजाने ठाँउमा भित्तो काट्ने काम भइरहेको छ।’ उनले सडक नभासिने ठाउँमा पर्खाल निर्माण भइरहेको जानकारी दिए ।
‘निर्माण सुरु गरेदेखि काम रोकिएको छैन । बर्खामा त काम गरिरहेका छौं । लक्ष्य अगावै निर्माणको काम सक्ने योजना छ ,उनले भने।’ उनले सडक निर्माणका क्रममा बन र विद्युतको समस्या नआएर समयमै काम सम्पन्न हुने बताए ।
चितवनतर्फ १७ किलोमिटर र धादिङतर्फ २२ किलोमिटर सडक स्तरोन्नति हुनेछ ।
प्रकाशित मिति: मंगलबार, साउन २३, २०८० १३:५९