भरतपुर । चितवनको इच्छाकामना गाँउपालिका-३ को फिस्लिङ बजारमा तरकारी संकलन केन्द्रको रुपमा विकास भएको छ।
गाउँमा किसानहरुले व्यवसायीक रुपमा लगाएको तरकारी यहाँ विक्री गर्न ल्याउँछन् । चार जिल्ला चितवन, गोरखा, धादिङ र तनहुँका किसानको कृषिजन्य उत्पादन यहाँको बजारबाट बिक्री हुने गर्छ ।
चितवनको इच्छाकामना गाँउपालिका, गोरखाको गण्डकी र शहिद लखन गाँउपालिका, धादिङको बेनिघाट रोराङ गाँउपालिका र तनहुँको आबुखैरेनी गाँउपालिकाका किसानले उत्पादन गरेको तरकारी यहाँ ल्याउने गरिएको छ ।
फिस्लिङ संकलन केन्द्रमा मध्यस्थकर्ताको भूमिका यहाँ सहकारी र व्यवसायीले गरेका छन् । किसानले उनिहरुलाई काँटा गरे बापत प्रतिकिलो दुई रुपैंयाँ दिने गर्दछन। व्यापारीहरु तरकारी लिन काठमाडौं, पोखरा, नारायणगढ, बुटवल लगायतका ठाउँबाट आउने गर्छन।
इच्छाकामना गाउँपालिकाले तरकारी संकलन केन्द्रका लागि भवन समेत निर्माण गरेको छ । अहिले भवनमा रहेका सटरमा पाँच वटा तरकारी संकलन केन्द्र सञ्चालन भइरहेका छन ।
सिजनमा यस तरकारी संकलन केन्द्रबाट २० ट्रक तरकारी विक्रि हुने गरेको इच्छाकामना गाँउपालिका वडा नम्बर ३ का अध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता नरबहादुर नेपालले बताए ।
प्रकाशित मिति: आइतबार, साउन २८, २०८० ११:४६