काठमाडौँ । जनकपुरधामको विकासका लागि स्थुल र सुक्ष्म दुई आधार महत्वपूर्ण परिलक्षित हुन्छ । स्थुल आधारअन्तर्गत विद्यमान भौतिक संरचनाको ऐतिहासिक, धार्मिक, पुरातात्विक र पर्यटकीय महत्व रहिआएको छ । यी स्थलको खोजी, पहिचान र संरक्षणसहित पर्यटकीय गन्तव्यका रुपमा प्रवद्र्धन गर्न सुन्दर संरचनाका लागि सुन्दर नक्शा नै कोर्नुपर्ने यथार्थतर्फ ध्यानाकर्षण गराइरहेको छ ।
यसका लागि ‘बान्डिङ’का विषयलाई सम्भाव्यका रुपमा लिन सकिन्छ । त्यस्तै सुक्ष्म सम्पदाका रुपमा मैथिली लोककला, संस्कृति र परम्पराप्रतिको आकर्षण विद्यमान छ । मूलतः इतिहास, पुराण प्रसिद्ध जनकपुरधाम विश्वविख्यात वैदिक संस्कृतिको आस्था रहेको हुनाले यसपवित्र भूखण्डको महत्व र मर्यादा सनातन संसारका लागि गौरवको विषय वस्तु बनेको छ।
जनकको प्राचीन मिथिला राज्यको राजधानी, भगवान रामको ससूराली, वृहदारण्य, विदेहभूमि, नैमिकानन, शाम्भवी, तपोवन, स्वर्णलाङल र जानकी जन्मभूमि, तीरभूक्ति, विश्वभाविनी नामले धार्मिक पर्यटनका क्षेत्रमा विशिष्ट स्थान ओगटेको छ। उच्च सभ्यता, ज्ञानविज्ञान र धनधान्यको केन्द्र, शास्त्र लेखन, कला, यज्ञ, तप, तत्व चिन्तन र दर्शनमाथि कर्मकाण्ड, विद्वान, विदुषिकोसभा, गोष्ठी, शास्त्र चर्चा, प्रश्नोत्तर र शास्त्रार्थको केन्द्रले परिचित छ । मिथिला शब्दमा मैथिलीको वैचारिकस्वरुप निहित छ।
मिथको अर्थ प्रशस्ति, गुणगान र इलाको अर्थ वुद्धि र शक्ति हुन्छ । जनकपुरकै पुण्य भूमिको कोखबाट प्रादुर्भूत जानकीको शील, सहिष्णुता, स्वाभिमान र समर्पणले सनातन सभ्यता र संस्कृतिको विकास क्रममा नयाँ मूल्य मान्यताको स्थापना गरेको छ।
त्रेता युगमा आदर्श नारीको जानकीको विवाह मर्यादापुरुषोत्तम रामसँग हुनुले पनि जनकपुरधामको महिमा मण्डित छ। कल्याणस्वरूप, सत्यस्वरूप भगवानका रूपमा पूजा राम र सत्यस्वरूपा देवीका रूपमा पूजा सीता पुण्यदायक र मोक्षदायक शब्द भएकाले पनि यहाँ आयोजना हुने रामजानकी विवाह महोत्सवमा लाखौंँ श्रद्धालु सहभागी भई वैवाहिक क्षणको अलौकिक दृश्य हेर्दै जयजयकार गर्दछन्।
भागवत् पुराणका अनुसार राम परब्रम्हा हुन् भने जानकी लक्ष्मीको अवतार हुन् । जानकी मन्दिर परिसरमा हुने गरेको वैवाहिक क्षणअन्तर्गत कन्यादानविधिको कारूणिकताले त्रेतायुगीन विवाहोत्सवको क्षण प्रकट भएको अनुभूति हुन्छ । यी पृष्ठभूमिलाई विवाह भूमि ‘ब्रान्डिङ’का लागि महत्वपूर्ण आधार मान्न सकिन्छ ।
तुलसीदासद्वारा लिखित रामायणअनुसार त्रेतायुगमा बाह्रविघामा नै धनुष यज्ञ हुँदा भगवान रामले धनुषमा ताँदो चढाउँदा शिव धनुष खण्डित भएको थियो। यसपछि राजा जनकले विवाह मणिमण्डपमा वैवाहिक उत्सवको आयोजना गराएको ग्रन्थमा उल्लेख छ।
भगवान विश्वकर्माले जानकीको विवाहका लागि मणि जडित मड्वा निर्माण गरेकै कारणले वैवाहिक मड्वाको नाम मणिमण्डप हुन गएको जनश्रुति छ। राजा जनककी पत्नी सुनयनाले मणिमण्डप भएकै स्थानमा बजार लगाएकी थिइन्, जसलाई सर्वसाधारणले रानी बजारको रुपमा पहिचान गरेका छन् ।
राजा जनकको दरबारको क्षेत्रफल १५ कोश रहेको विश्वास गरिन्छ । पन्ध्रकोशे दरबारमा ५२ वटा गल्ली रहेकोसमेत बताइन्छ। विभिन्न शोधले दरबारकोबीच आँगनका रुपमा जनकपुरको पिडारी गाउँलाई आधार बनाउने गरेको छ । सोही बमोजिम राजा जनकले जानकीको विवाह गर्दाबीच आँगनमा मड्वा निर्माण गर्न लगाएका थिए, जसलाई मणिमण्डपको संज्ञा दिइएको छ।
मणिमण्डपको छेउमै सीताले वैदिक परम्पराअनुसार विवाहको क्रममा लाबा छरेकोस्थल वेदी रहेको छ । वेदिरहेको स्थानमा अझै दैविक शक्ति विद्यमान रहेको विश्वास छ। त्यस स्थानमा रातो रङ्गको माटो स्वस्फूर्त निस्किने गरेको र त्यो माटोलाई सिन्दूरका रुपमा प्रयोग गर्न घुइँचो लाग्ने गरेकोले पनि यसको पौराणिकतालाई पुष्टि गर्दछ ।
त्यसको उत्तरपट्टितर्फको पोखरीलाई जानकीले विवाहपछि आँखा पखालेकोस्थल रहेको विश्वास गरिन्छ । पोखरीको पानी अझै कालो नै छ। पानी सतहमुनिको माटोसमेत गाजलु देखिने गरेको छ । पर्यटन मानवीय गतिविधि हो । धार्मिक क्षेत्रलाई पर्यटनको अभिन्न अङ्ग मानिन्छ । धार्मिक पर्यटन पर्यटनको पुरानो गतिविधि भए पनि नयाँ आयामका रुपमा स्थापित भएको छ।
जानकी र बुद्धको जन्मथलो भएर पनि नेपालमा धार्मिक पर्यटनको प्रतिफल लिन यथेष्ट प्रयास भएको कमै देखिन्छ ।मानव सभ्यतासँगै धार्मिक क्रियाकलापको विकास भएको देखिन्छ । जनकपुरमा पर्यटनको आरम्भको लिखित कथा पौराणिक कालदेखि नै पाइन्छ।
पौराणिकग्रन्थका आधारमा जनकपुर आउने पहिलो पर्यटक विदेह माधव हुन् । शत्पथ ब्राह्मण ग्रन्थमा विदेह माधवले नै आर्यहरुको प्रथम देवता वैश्वानर अग्निलाई आफ्नो मुखबाट प्रकट गरेको उल्लेख छ । त्यसपछि वैदिक र औपनिषदिक ऋचाहरुको रचना गर्ने ऋषिहरुको आगमनको प्रसङ्ग पाइन्छ ।
याज्ञवल्क्य, अष्टावक्र, गार्गी, मैत्रेयी आदि जनक दरबारमा मीमांसाका लागि पर्यटककै रुपमा आएर आश्रमसमेत बनाएको चर्चा छ भनिन्छ, कृति जनकको राजसभामा कोशल तथा कुरु प्रदेशबाट आएका विद्वानहरु अश्वल, जरत्कारव, याज्ञवल्क्य, भुज्यु, उशस्तु गार्गी, आरुणि आदि विद्वानहरु रत्नबाट अलङ्कृत थिए।
जैनहरुका २४औँ तीर्थाकरको जन्म जनकपुरमै भएको थियो । अन्तिम तीर्थकर महावीरका एउटा गणधर जनकपुरकै थिए। महावीर स्वयंले जनकपुरमा छ वर्ष बिताएको र बुद्ध पटक–पटक आएको प्रसङ्ग पाइन्छ । बौद्धको १५ जातकमा पनि जनकपुरको वर्णन छ। विभिन्न प्रकरणमा स्वयं भगवान श्रीकृष्ण जनकपुर तीनपटक आएको प्रमाण महाभारतमा उल्लेख छ। सुफी सन्तहरुको कर्म क्षेत्र रहेको आधारमा मुसलमानहरुका लागि पनि यो भूमि परम पावन रहेको छ ।
बज्जिसङ्घको सदस्य भएपछि यहाँ बौद्ध धर्मावलम्बीको ओइरोको उल्लेख छ । सन् ६४३ तिर चिनियाँ यात्री हुएनसाङ जनकपुरतिर पनि आएको कुरा उनले आफ्नो यात्रा बृतान्तमा चर्चा गरेका छन् । पृथ्वीनारायाण शाहको राज्य एकीकरण अभियानअन्तर्गत काठमाडौँ राज्य जयप्रकाश मल्लले बचाउन शाहको विरोधमा अङ्ग्रेजलाई उचाल्दा सन् १७७५ मा किनलकको नेपाल प्रवेश जनकपुर हुँदै भएको कुरा इतिहासबाट प्रमाणित छ ।
पश्चिमेली नागरिकमा जनकपुरमा सन् १९६४ तिर आउने अमेरिकी पिसकोर स्वयंसेवक अर्नोल्ड दम्पत्ति पहिला हुन् । त्यसपछि जनकपुर चुरोट कारखाना भवन निर्माणको क्रममा रुसी नागरिकको आगमन भएको देखिन्छ । यस्तै अमेरिकी महिला क्लेयर बर्कटले कुवामा महिला विकास केन्द्रको स्थापना गरी मिथिला चित्रकलाको अन्तर्राष्ट्रिय बजारमा प्रसिद्धी दिलाएको पाइन्छ।
योजनाबद्ध रुपमा जनकपुरलाई पर्यटन केन्द्रको रुपमा विकसित गर्ने प्रयास कुनै पनि पक्षबाट भएको देखिदैन । जनकपुरको आत्माको रुपमा रहेको धर्म र संस्कृतिको जादूले मात्र आजसम्म स्वतः तानिएर पर्यटक जनकपुर आउने गरेका छन्।
यस भावभूमिमा नीलम संजीवा रेडी, ज्ञानी जेल सिंह, अटलबिहारी बाजपेयी,नरसिंह रावलगायतका भारतीय वरिष्ठ नेता र राजनीतिकर्मीहरुको जनकपुर आगमन भएको थियो । यसमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा जनकपुर र अयोध्याको प्राचीन सम्बन्धलाई दृष्टिगत गरी घोषणा गरिएको रामायण सर्किट परियोजना ‘ब्रान्डिङ’ सन्दर्भलाई टेवा दिन सकिने दिगो आधार हुनसक्छ।
जनकपुरधामबिना भारतको धाम र भगवान राम पनि अधुरो रहने यथार्थताको पृष्ठभूमिमा समृद्ध सांस्कृतिक विविधताको संरक्षणअन्तर्गत मिथिलाको जनकपुरधाम र भारतको अयोध्याबीच सामाजिक, सांस्कृतिक र धार्मिक सम्बन्ध विस्तार, तीर्थाटनको प्रवद्र्धन गर्ने उद्देश्य राखी रामायण सर्किट परियोजना कार्यान्वयनमा छ।
यसलाई जनकपुरधाम र अयोध्याको धार्मिक र सांस्कृतिक सम्बन्धलाई प्रगाढ र तीर्थयात्रीको ओइरो लाग्ने परियोजना त्रेता युगको विरासत गाथा, राम र जानकीको पाइला स्पर्श गरिएको क्षेत्रसँग जोड्ने भागीरथ प्रयास र पर्यटकीय विकासका फाँटमा आशाको किरण मानिएको छ।
सन् २०१४ मा भारतीय भारतीय प्रधानमन्त्री मोदी नेपाल भ्रमणका क्रममा अयोध्या र जनकपुरको धार्मिक तथा सांस्कृतिक विकासका लागि गरिएको सम्झौताअनुरुप रामायण सर्किट रामको जीवनका तीनवटा अध्याय जन्म, विवाह र रावण वधसँग सम्बन्धित स्थलको तीर्थाटनमा आधारित परियोजना हो ।
भारतको पर्यटन मन्त्रालयबाट भारतभरि दर्शन योजना अन्तर्गत विकसित १३ विषयगत सर्किटमध्ये रामायण सर्किट पनि एउटा हो। यो परियोजनाभित्र अयोध्या, श्रृङ्गपुर, चित्रकुट, सीतामढी, बक्सर, नन्दीग्राम, जगदलपुर, भद्राचलम, रामेश्वरम, हम्पी, नासिक र नागपुर छ भने नेपालतर्फ जनकपुरधाम लगायत राम र जानकीको जीवनगाथासँग जोडिएको धार्मिकस्थलको विकास समावेश छ।
परियोजनाभित्र पोखरी, मन्दिर, मिथिलाको विरासत संरक्षण, रामायणकालीन तीर्थस्थललाई पर्यटनसँग आबद्ध गरी जनकपुर र अयोध्यालाई आर्थिक रुपमा सबल बनाउने मार्गचित्र रहेकाले यसलाई सभ्यता र ।संस्कृतिलाई जीवन्त तुल्याउने अतुल्य अभियान मान्न सकिन्छ।
जनकपुरधाम आउने ७० प्रतिशत भारतीय तीर्थयात्री हुने गरेकाले पनि परियोजना महत्वपूर्ण छ । सन् २०१८ मई १ मा भारतीय प्रधानमन्त्री मोदीको जनकपुर आगमनपछि जनकपुरमा भारतीय तीर्थयात्रीको वृद्धिले पनि यसको सार्थकतालाई सिद्ध गरिरहेको छ। रामायण सर्किट परियोजनाअन्तर्गत दुई पटक विशेष रेलद्वारा भारतीय तीर्थयात्रीको जनकपुरधाम आगमन पनि भइसकेको छ।
यसलाई स्वदेशी र विदेशी पर्यटकलाई मनोहर र पर्यटन अनुभव आदान प्रदान र पर्यटन परिपथ एकीकृत विकासको नयाँ पाइला पनि मानिएको छ। यसको एउटा पाटोका रुपमा भारतको अयोध्यामा निर्माणाधीन राम मन्दिरमा नेपालको देवशिलाको प्रयोग गरी तीर्थाटनको सूत्रलाई विस्तार गरिएको छ ।
यसका अतिरिक्त वर्तमानमा विशिष्ट छविका रुपमा विकसित गर्न स्थललाई ‘ब्रान्डिङ’ गर्नु आवश्यक छ । जनकपुरधामलाई विवाह भूमि ब्रान्डिङ गरी देश र विदेशबाट नवजोडी विवाहका लागि गन्तव्य स्थलका रुपमा विकसित गर्नु पर्दछ। यसका लागि मणिमण्डपमा अन्तर्राष्ट्रिय स्तरको सुविधा सम्पन्न विवाह मण्डप निर्माणको अवधारणालाई मूर्त रुप दिनुपर्ने टड्कारो देखिएको छ ।
मणिमण्डपमा एक पटक सामूहिक विवाहको प्रयास एउटा संस्थाले गरे पनि व्यवस्थापकीय पक्षको कमजोरीका कारण मणिमण्डपमा निरन्तरता पाउन नसकेर सामूहिक विवाहलाई जानकी मन्दिर परिसरमा आयोजना हुने रामजानकी विवाह उत्सवमा सीमित गरिएको छ।
विश्वकै महान सम्पदा जनकपुरधामलाई विवाह भूमि ‘ब्रान्डिङ’ गरी धार्मिक पर्यटन क्षेत्रमा एक प्रमुख गन्तव्य स्थलका रुपमा प्रवर्द्धन गर्नु आवश्यक देखिन्छ ।
(लेखक पत्रकार एवं मैथिलीभाषा, साहित्यका अध्यता हुनुहुन्छ)