नारायणगढ । आज साउनको अन्तिम सोमबार पवित्रस्थल देवघाटधाममा स्नान तथा दर्शन गर्ने भक्तजनहरुको भीड लागेको छ।
सौरमास अनुसार साउनको अन्तिम सोमबार बिहानैदेखि देवघाटधाममा स्नान तथा दर्शन गर्न आएका भक्तजनको लाम देखिन्छ।
लगातार परेको साउने झरीको वेवास्ता गर्दै भक्तजनहरु बिहानैदेखि यहाँ स्नान गरी शिव मन्दिरहरुमा पूजा, आराधना एवं दर्शनका लागि लाममा बसेका हुन्।
साउनको अन्तिम सोमबारभएकोले भक्तजनको भीड लाग्ने र नदीमा पानीको बहाव उच्च हुँदा सुरक्षाकर्मीहरुले स्नान स्थलमा भक्तजनहरुलाई सतर्क गराइराखेका छन्।
साउन महिना र सोमबार भगवान शिवको महिना एवं बार मानिने भएकाले यस दिन शुद्ध जल चढाएमा आशुतोष भगवान प्रसन्न भई मनोकामना पूरा गरिदिनुहने धार्मिक विश्वास रहेको छ ।
साउनमा व्रत बस्नेले अन्तिम सोमबार व्रत उद्यापनका लागि गोदान, पूर्णपात्र वा पूजा लगाउने गर्दछन् ।
प्रकाशित मिति: सोमबार, साउन २९, २०८० १६:००