काठमाडौँ । गत आर्थिक वर्ष २०७९/८० मा विप्रेषण आप्रवाह १२ खर्ब २० अर्ब ५६ करोड पुगेको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको गत आवको वार्षिक तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार गत आवमा विप्रेषण आप्रवाह २१ दशमलव दुई प्रतिशतले बढेको हो । अघिल्लो वर्ष विप्रेषण आप्रवाह चार दशमलव आठ प्रतिशतले बढेको थियो।
केन्द्रीय बैंकका अनुसार अमेरिकी डलरमा विप्रेषण आप्रवाह १२ दशमलव एक प्रतिशतले वृद्धि भई ९ अर्ब ३३ करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह २ दशमलव २ प्रतिशतले बढेको थियो ।
त्यस्तै समीक्षा वर्षमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या ४० दशमलव ३ प्रतिशतले बढेर ४ लाख ९७ हजार ७ सय ४ पुगेको छ । अघिल्लो वर्ष यस्तो सङ्ख्या ३ सय ९२ प्रतिशतले बढेको थियो।
त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या समीक्षा वर्षमा १ दशमलव ८ प्रतिशतले कमी आई २ लाख ७७ हजार २ सय ७२ पुगेको छ। अघिल्लो वर्ष यस्तो सङ्ख्या १ सय ९८ दशमलव ५ प्रतिशतले बढेको थियो।
प्रकाशित मिति: शुक्रबार, भदौ १, २०८० १५:१५