कास्की । उपप्रधान तथा गृहमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सरकार, सदन र सडक तीनवटै मोर्चाको संयोजनबाट समाजवाद निर्माणको आधार तयार गर्न सकिने बताएको छ ।
नेकपा (माओवादी केन्द्र) गण्डकी प्रदेश समितिको सातौँ पूर्ण बैठकलाई पोखरामा सम्बोधन गर्दै उनले संघ, प्रदेश र स्थानीय तह तीनै तहका सरकारको मोर्चानै अहिले मुख्य रहेको र सदन सहयोगी रहेको उनले उल्लेख गरेको हो ।
गृहमन्त्री श्रेष्ठले नेपाली जनताको जीवनमा तात्कालिक आवश्यकताहरु पूरा गरेर नयाँ जीवन दिनुपर्नेमा जोड दिएका हुन्। उनले भने, “हालका उपलव्धीहरुलाई राजनीतिक परिर्वतनको क्षेत्रमा सीमित गरियो भने परिर्वतनको औचित्य आम जनतामा पुष्टि हुन सक्दैन। जनताको जीवनमा राजनीतिक परिर्वतनले परिर्वतन ल्याउन सक्नुपर्दछ ।”
राष्ट्रिय एकता सुदृढ गर्नु, हालसम्मका उपलब्धी र संविधानको रक्षा गर्नु, संविधानलाई माध्यम र साधन बनाउँदै सामाजिक आर्थिक रुपान्तरण गरी विकास र समृद्धिको यात्रा तीव्र बनाउनु देशको मुख्य मुख्य कार्यभार रहेको उनले बताए।
वर्तमान सरकारले शान्ति प्रक्रियासँग सम्बन्धित बाँकी कामहरुलाई छिटो टुङ्गोमा पु¥याउन चाहेको श्रेष्ठले बताए। “सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानविन आयोगको काम पूरा गर्नुपर्नेछ, द्धन्द्ध पीडितलाई न्याय दिनुपर्ने छ, यसपटक हरहालतमा सङ्क्रमणकालीन न्यायको काम पूरा गरेर शान्ति प्रक्रियालाई समग्रमा टुङ्गोमा पु¥याउन सरकार लागिपरेको छ ।” गृहमन्त्री श्रेष्ठले भने।
पार्टीले आगामी भदौ १६ देखि सञ्चालन गर्ने तीन महिने ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’लाई गण्डकी प्रदेशमा प्रभावकारी बनाउने गरी लाग्न यस प्रदेशका नेता कार्यकर्तालाई उनले निर्देशन समेत दिए ।
अभियानका क्रममा नयाँ सदस्यता वितरण,सङ्गठन सुदृढीकरण, संगठन पुनःगठन र विस्तारको कामलाई व्यवस्थित गर्न वरिष्ठ उपाध्यक्ष श्रेष्ठले आग्रह गरे।
उनले भने,“जनताको बीचमा जाँदा हरेक जनताको घरमा पुग्नुपर्दछ, हाम्रो पार्टीको समर्थक मात्र होइन, विपक्षीको घरमा पुगेर सरकारले सुशासनका लागि गरेका कामका बारेमा सुझाव लिनुहोला। हामीले गरेको काम जनतालाई बताउनुपर्दछ, सुझाव लिनुपर्दछ र जनताले गाली गरेपनि सहनुपर्दछ।”
प्रकाशित मिति: आइतबार, भदौ ३, २०८० ०९:१३