बेनी । बेनी-जोमसोम सडकखण्ड अन्तरगत म्याग्दीको अन्नपूर्ण गाउँपालिका-३ दाना खण्डमा पहिरोले सडक क्षतविक्षत भएको छ।
अविरल बर्षासंगै आएको बाढी र पहिरोले अन्नपूर्ण गाउँपालिकाको नारच्याङ पुलदेखि दानासम्म करिब ५५ बढी ठाउँमा सडक अवरुद्ध भएको छ।
ठाउँ-ठाउँमा खसेको पहिरोले सडकमा ठूलो क्षति भएको बेनी–जोमसोम–कोरला सडक आयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनले जानकारी दिए।
यस सडक आयोजना अन्तरगत अहिले बेनीदेखि नारच्याङपुल सम्म र दानादेखि जोमसोम खण्डको सडक मात्रै सूचारु रहेको छ।
सडक अवरुद्ध भएपछि घाँसादेखि नारच्याङ पुलसम्म नै सर्वसाधारण र पर्यटकहरुले पैदल हिँडेर आवत जावत गर्नुपरेको छ। विदेशी पर्यटक र तिर्थयात्रीहरुले हिलोमा जोखिम मोलेर यात्रा गर्दा कष्टकर भएको छ ।
सडकखण्डका बिचमा पर्ने दाना क्षेत्रमा मात्रै दर्जनौ ठाउँमा पहिराले सडक अवरुद्ध बनेको र मर्मत गरि सूचारु गराउने प्रयास जारी रहेको सुपरभाइजर शेरचनले बताए। कालीगण्डकीको तीरदेखी नै सडकको बेस भत्किएकाले सडक मर्मत गरि सुचारु गराउन समस्या भएको छ।
मुस्ताङलाई राष्ट्रिय राजमार्गसंग जोड्ने बेनी-जोमसोम सडकको दाना खण्डमा सडक क्षतविक्षत भएपछि पर्यटक, तिर्थयात्री र सर्वसाधारणलाई सास्ती भए, सुकेबगर, द्धारीखोला क्षेत्रमा सबैभन्दा बढी पहिरो गएको छ।
यस क्षेत्रमा कालीगण्डकी नदीबाट सडकमा खटान र सडक माथिको सुवा बस्तीदेखि आएको पहिरोले अधिकाँश सडकमा क्षति भएको छ।
ठाउँ ठाउँमा खसेको पहिरोले सिधा सवारी सूचारु हुन नसकेपछि १५ दिनपछि बिच बाटैमा सवारी राखेर घर फर्कनुपरेको बेनी नगरपालिका-४ घर भएका जिप चालक शेरबहादुर गुरुङले बताए ।
सडक अवरुद्ध भएपछि मुस्ताङ र म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको दानामा खाद्यान्न, इन्धन लगायतका अत्यावश्यक सामाग्रीको ढुवानीमा समेत समस्या भएको छ भने विरामीहरुलाई समेत अस्पताल जान सकस भएको छ ।
प्रकाशित मिति: सोमबार, भदौ ४, २०८० १५:५८