चन्द्रयान-३ को ‘ल्याण्डर मोड्युल’ चन्द्रमाको दक्षिणी ध्रुवमा सफलतापूर्वक अवतरण गरेको छ ।
चार वर्षअघि चन्द्रयान-२ को दुर्घटनाग्रस्त अवतरणको निराशाको अन्त्य गर्दै चन्द्रयान-३ लाई चन्द्रमाको दक्षिणध्रुबमा अवतरण गराएर ऐतिहासिक सफलता रच्न सफल भएको छ ।
यो ध्रुबमा पुग्ने भारत पहिलो देश बनेको छ। चन्द्रमाको सतहमा सफलतापूर्वक अवतरण गर्ने अमेरिका, चीन र रूसपछि भारत चौथो देश बनेको छ।
भारतीय अन्तरिक्ष एजेन्सी इसरोको बेङ्गलोरस्थित मुख्यालयका अधिकारीहरूले चन्द्रयान-३ मार्फत् पठाइएको ल्याण्डर मोड्युल विक्रमले आफ्नो अवतरण स्थलतर्फ आफ्नो ठाडो अवतरण सुरु गरेपछि ताली बजाएर खुशी मनाएका थिए।
“भारत चन्द्रमामा पुगेको छ !” जोहानेसबर्गमा आयोजित १५औं ब्रिक्स शिखर सम्मेलनमा भाग लिइरहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एक्स (ट्वीटर) मार्फत् उक्त जानकारी दिएको छ ।
विक्रमको चन्द्रमाको कक्षबाट अवतरणको यात्रा १५० मिटर, त्यसपछि १३० मिटर, ५० मिटर र चन्द्रमाको सतहमा पुग्नुअघि चन्द्रमानजिक आइपुग्दा तह अनुसार यसको गति घट्दै गएको थियो ।
विक्रम ल्यान्डरले प्रज्ञान रोभरलाई लिएर चन्द्रमाको सतहमा अवतरण गरेको हो । यो भारतका लागि अन्तरिक्ष यात्राको ठूलो फड्को हो।
भारतले पृथ्वीको एक मात्र प्राकृतिक उपग्रहको दक्षिणतर्फ अवतरण गर्ने पहिलो देशको रूपमा रेकर्ड बनाएको छ । भारत र विश्वभरका अरबौं मानिसहरूले बहुप्रतिक्षित कार्यक्रमलाई नजिकबाट नियालिरहेका छन् ।
विद्यालय र विज्ञान केन्द्रहरू, र सार्वजनिक संस्थानहरू सहित देशभर अवतरणलाई विशेष स्क्रिनिङहरू जडान गरी हेरिएको थियो। इसरोले आफ्नो वेबसाइट, यसको युट्युब च्यानल, फेसबुक र सार्वजनिक प्रसारक डीडी नेशनल टिभीमा लाइभ कार्यहरू उपलब्ध गराएको थियो।
चन्द्रमाको दक्षिणी ध्रुवमा चन्द्रयान-३ को अवतरण (सफ्ट ल्यान्डिङ) का लागि २३ अगस्ट २०२३ (बुधबार) भारतीय समय १८ः०४ बजेलाई निर्धारण गरेको थियो ।
इन्डियन स्पेस रिसर्च अर्गनाइजेसन (इसरो)ले गत असार २९ गते दक्षिण भारतको आन्ध्र प्रदेशस्थित सतिश धावन अन्तरिक्ष केन्द्रबाट प्रक्षेपण गरिएको थियो। ‘एलभीएम-३’ रकेटले अन्तरीक्षयानलाई अन्तरिक्षमा पुर्याएको थियो।
भारतले अन्तरिक्षयानलाई चन्द्रमाको अर्बिट (कक्ष) मा सफलतापूर्वक पुर्याएको यो तेस्रो पटक हो । इसरोले यसअघि नै अगस्ट ५ मा ‘चन्द्रयान-३’ चन्द्रमाको कक्षमा पुग्ने बताएको थियो ।
प्रकाशित मिति: बुधबार, भदौ ६, २०८० १९:२२