अनगिन्ति सपना अनि भ्रम छरेर
तिमि कुन यात्रामा अघि बढदैछौ
तिम्रा हरेक शब्द शब्दमा
मानिस घमण्ड र अज्ञानता देखि रहेछन्
जन-जनका ब्यथा अनि घाऊहरुमा
तिमी सधै नुन चुक छरी रहेछौ
आफ्ना गल्ति अनि काला कर्तुत छोप्न
कपटी पासा तिमि फ्याकछौ।
जिर्ण शरिर र पुरातन सोच बोकेर
तिमी दिशाहीन यात्रामा बढि रहेछौ
समय संग पौठेजोरी खेल्दै
केवल मुखले प्रगती-सम्बृधि बोल बोल्छौ
समय संगै हिड्न सक्ने नूतन सोंचका
सहयात्रिलाई अकारण पाखा देखाउछौ
म्याराथन दौडको खाचो हुँदा
तिमि फगत् सय पाइलामा थाकीसक्यॊ।
सपना बाड्न जति सहज होला
यथार्थमा गन्तब्य धेरै टाढा रहन्छ
बोली र कर्ममा तादात्म्य नभए
कुहिरो बिचको काग झैँ मानिस हुन्छ
हजार व्यथा पिढा बोकेका
मानिसहरुको क्रन्दनलाई बेवास्ता गर्छौ
पछि परेका निर्धाहरुसंगै रहन नसके
तिम्रा यात्राले बिद्रोह ल्याउछ।
गन्तब्य टाढा धेरै टाढा छ
बरु तिमी बुद्धि पुराई यात्रा छाडी देउ
सगरमाथा चड्नलाई
ति लुला पाइलाहरुले त्यहिँ नाम्चे पुगिन्न
भोका पेटका सहयात्री लिएर
यात्रा कहिले गन्तब्यमा टुंगिन्
पहिले भोका पेट भर्ने
न्याय गर्ने कठोर निर्णय उपक्रम गर
-सबल आचार्य
रत्ननगर नगरपालिका-१ टाडी, चितवन। हाल: दोहा, कतार।
प्रकाशित मिति: बुधबार, असार २, २०७८ १४:१२