काठमाडौ । बाढी पहिरो प्रभावित परिवारले अस्थायी आवासका लागि ५० हजार रुपैंया राहत पाउने भएका छन् ।
बाढी पहिरो प्रभावित परिवारले दुई किस्ता २५/२५ हजार गरी स्थानीय तहमार्फत सो रकम प्रभावित परिवारलाई उपलब्ध गराउने तयारी गरिरहेको छ।
गृहमन्त्रीको नेतृत्वमा भएको विपद व्यवस्थापन कार्यकारी समितिको बसेको बैठकले बाढी पहिरोबाट प्रभावितलाई तत्काल उद्धार, राहत वितरण र पुनस्र्थापना गर्ने निर्णय गरेको हो ।
राहत वितरणका लागि विभिन्न मापदण्ड निर्धारण गरिएको राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले जानकारी दिए ।
कार्यकारी प्रमुख पोखरेलका अनुसार सिन्धुपाल्चोक मनाङ लगायतका जिल्लाका प्रभावित परिवारले सो राहत पाउने भएका हुन्। त्यहाँ खाद्यसामग्री, टेन्टलगायतका अरु आवश्यक व्यवस्था तुरुन्त गर्ने र जोखिममा परेकालाई तत्काल उद्धार गर्ने निर्णय बैठकले गरेको छ ।
विपद व्यवस्थापन कार्यकारी समितिको बैठकले वेपत्ता भएकालाई खोजी तथा उद्धार कार्यलाई जारी राख्दै स्थानीय सरकारद्धारा राहत उपलब्ध गराउने निर्णय भएको छ।
बैठकले प्रारम्भिक द्रुत लेखाजोखा कार्यविधि, २०७८, मनसुन पुर्वतयारी तथा प्रतिकार्य योजना, २०७८, र विपद व्यवस्थापन स्वयंसेवक व्युरो गठन तथा परिचालन कार्यविधि, २०७८ लाई स्वीकृत गरेको छ ।
प्रकाशित मिति: बुधबार, असार २, २०७८ १६:०१