काठमाडौं। नेपाली आधुनिक संगीतमा बेग्लै उचाई कायम गर्न सफल ख्यातिप्राप्त गायिका रचना रिमालले नेपालभाषामा पहिलो पल्ट गीत गाएकी छन्।
गायिका रिमालले पहिलो पल्ट युगिन चलचित्र निर्देशक तथा गीतकार पवन जोशीको शव्द रचनामा नेपालभाषामा गीत गाएकी हुन्।
युगिन निर्देशक तथा गीतकार जोशीको ८८ औं नेपालभाषाको गीत मतिनाया नुगः अर्थात प्रेमको आत्मालाई शानदार रुपमा गायिका रिमालले गाएर नयाँ आयाम कायम गरेकी छन्।
काठमाडौंको कमलपोखरी स्थित भ्वाइस रेकर्ड स्टुडियोमा नेपाली आधुनिक संगीतका धरोहर बरिष्ठ संगीतज्ञ दीप तुलाधरको म्युजिक एरेञ्ज, मिक्सिङमा रेकर्ड भएको जानकारी युगिन निर्देशक जोशीले दिएका छन्।
जोशीका अनुसार, उक्त गीतमा गायिका रिमालसँग गायक कृष्ण श्रेष्ठको युगल गायन रहेको छ। गायिका रिमालले आफूले पहिलो पल्ट नेपालभाषामा गीत गाउन पाउँदा अत्यन्त गर्ब लागेको र यसलाई आफ्नो भाग्य भएको पनि भनेकी छन्।
गायक श्रेष्ठले पनि गायिका रिमालसँग युगल गीत गाउन पाउंदा खुशी लागेको बताए। शास्त्रीय संगीतका ज्ञाता समेत रहेका गायक श्रेष्ठले चाँडै नै उक्त गीतको भिडियो दर्शकसमक्ष आउने जानकारी दिए ।
प्रकाशित मिति: बिहीबार, भदौ १४, २०८० २०:३१