काठमाडौ । एशियन शारीरिक सुगठन तथा फिटनेस् महासंघको आयोजना तथा नेपाल शारीरिक सुगठन तथा फिटनेस महासंघको व्यवस्थापनमा ५५ औं एशियाली शारीरिक सुगठन तथा फिजिक्स स्पोर्टस् च्याम्पियनसिप हुने भएको छ।
काठमाडौमा हुने ५५ औं एशियाली शारीरिक सुगठन तथा फिजिक्स स्पोर्टस् च्याम्पियनसिपमा १७ राष्ट्रका २३६ खेलाडीले विभिन्न विधामा प्रतिस्पर्धा गर्ने भएका छन् । जसमा १६८ पुरुष र ६८ महिला गरि २३६ खेलाडीहरुले विभिन्न ४५ विधामा प्रतिस्पर्धा गर्नेछन्।
शारीरिक सुगठनको प्रतियोगितामा पहिलो पटक ठूलो प्रतियोगिताको रुपमा रहेको च्याम्पियनसिपमा नेपाल सहित भुटान, चीन, हङ्गकङ्ग चाईना, भारत, काजाखस्तान, मकाउ चाईना, मालदिभ्स, मलेसिया, म्यानमार, सिंगापुर, दक्षिण कोरिया, श्रीलंका, थाईल्याण्ड, ताजाकिस्तान, उज्वेकिस्तान र भियतनामको सहभागिता रहेको छ ।
दरवारमार्गस्थित याक एण्ड यती होटलको रिगल बाल रुममा हुने च्याम्पियनसिपमा पुरुषतर्फ २८, महिलातर्फ १६ र मिक्स १ गरि ४५ विधामा प्रतिस्पर्धा हुनेछ। प्रतिस्पर्धा गर्ने सवै देशका खेलाडी, अफिसियल र डेलिगेट्सहरु नेपाल आईसकेका छन्।
च्याम्पियनसिपको दोश्रो दिन आज शनिबार मेनेजर्स मिटिङ्ग, निर्णायक मिटिङ्ग, डोपिङ्ग सेमिनार तथा एशियाली कंग्रेसको आयोजना भएको छ। यस्तै भोलि तेश्रो दिन १७ गते खेलाडीहरुको तौल तथा हाईट मेजरमेन्ट र उमेर समूहको जाँच गर्ने कार्य हुनेछ।
चौथो दिन १८ गते प्रतियोगिताको उद्घाटनका साथै १६ वटा विधामा प्रतिस्पर्धा हुनेछ । जसमा पहिलो दिन नेपाली १४ खेलाडीहरुले ८ वटा समूहमा प्रतिस्पर्धा गर्नेछन्।
यस्तै १९ गते २० वटा विधामा प्रतिस्पर्धा हुने र २४ नेपाली खेलाडीहरुले १७ वटा समूहमा प्रतिस्पर्धा गर्नेछन् । २० गते ९ वटा विधामा प्रतिस्पर्धा हुने र ५ जना नेपाली खेलाडीहरुले ४ वटा समूहमा प्रतिस्पर्धा गर्नेछन् ।
प्रत्येक दिनको खेल पश्चात नतिजा प्रकाशन हुने छ। प्रतियोगिताको अन्तिम दिन शारीरिक सुगठन तर्फको ५५, ६०, ६५, ७०, ७५, ८०, ८५, ९०, १०० र ११० केजी गरि १० समूहका प्रथम स्थान प्राप्त गर्ने खेलाडीहरुविच प्रतिस्पर्धा गराई सर्वोत्कृष्ट हुने खेलाडीलाई मि. एशिया २०२३ घोषित गरिनुका साथै ट्रफी प्रदान गरिने छ ।
यस्तै सम्पूर्ण प्रतिस्पर्धाबाट मेडलका आधारमा शिर्ष तीन स्थान प्राप्त गर्ने ३ देशलाई च्याम्पियनसिपको प्रथम, द्वितीय र तृतीय घोषित गरिने छ।
मनकामना केवल कारको प्रमुख प्रायोजनमा हुने प्रतियोगितामा राष्ट्रिय खेलकुद परिषद्, नेपाल टुरिजम बोर्ड, एभरेष्ट बैंक, नेपाल ईन्भेष्टमेन्ट मेगा बैंक, महालक्ष्मी विकास बैंक, पञ्चकन्या ग्रुप, केटिएम सिटी, सिद्धार्थ प्रिमियम इन्स्योरेन्स, सरगमाथा लुम्बिनी इन्स्योरेन्स, शिखर इन्स्योरेन्स, सिएफएस रेमिट आदिको विशेष सहयोग रहने आयोजकले जनाएका छन्।
प्रतियोगिताको आधिकारीक होटलमा याक एण्ड यती र र्याडिसन होटल रहेको छ भने प्रतियोगिताको काष्टमण्डप टेलिभिजन र मेरो फिटनेशले फेसबुक लाईभ गर्नेछन्। प्रतियोगिताको इभेन्ट म्यानेजमेन्टमा फुनोलोजिक सोलुसन रहेको छ।