काठमाडौ । रजनी श्रेष्ठले काठमाडौमा जारी ५५औं एशियन शारीरिक सुगठन तथा फिजिक्स स्पोर्टस् च्याम्पियनसिपमा नेपालका लागि स्वर्ण जोडेकी छिन्।
महिला शारीरिक सुगठनको ५५ केजी तौल समूहमा भारतकी सविता बानियाँलाई पराजित गर्दै रजनी श्रेष्ठले स्वर्ण जितेकी हुन्। यो सहित हालसम्मको नतिजामा नेपालले ३ स्वर्ण जितेको छ । तेश्रो स्थानमा भियतनामकी दिन्ह किम लोन रहिन्।
अन्य पदकमा महिलातर्फको १५५ सेमी सम्मको मोडल फिजिकमा तारा खाईजुले रजत प्राप्त गरिन् । थाईल्याण्डकी किरातीया छन्त्रतले स्वर्ण जित्दा भारतकी निमा डोमा लामाले कास्य जितिन् ।
एशियन शारीरिक सुगठन तथा फिजिक्स स्पोर्टस् फेडेरेसनको आयोजना तथा नेपाल शारीरिक सुगठन तथा फिट्नेस महासंघको ब्यवस्थापनमा भएको च्याम्पियनसिपको १७० सेमी सम्मको पुरुष फिजिक विधामा राजु राईले रजत पदक जिते।
उनले मालदिभ्समा सम्पन्न अघिल्लो संस्करणमा कास्य पदक प्राप्त गरेका थिए । थाईल्याण्डका वान्चाई कान्जानापिमिनेले स्वर्ण प्राप्त गरे भने भियतनामका तरान होङ्ग दुर्इ थुआनले कास्य प्राप्त गरे ।
यस्तै १७ सेमी माथिको प्रतिस्पर्धामा रन्जित लामाले कास्य पदक प्राप्त गरे । पहिलो स्थानमा थाईल्याण्डका दाम्रोङ्गसाक सोयश्री र चाईना मकाउका अउ मान किटले रजत प्राप्त गरे ।
पुरुषको ७५ केजी तौल समूहमा ललित धिमालले नेपालका लागि रजत प्राप्त गरे । भारतका राहुल चिन्डाले स्वर्ण र भारतकै जगन्नाथ खुन्तियाले कास्य प्राप्त गरे।
८० केजी तौलमा नेपालका कृष्ण प्रसाद श्रेष्ठले कास्य पदक प्राप्त गरे । थाईल्याण्डका पतैवात अल्कावतले स्वर्ण र भारतका प्रकास प्रधानले रजत प्राप्त गरे।
सोमबार भएको ५५ औं एशियन शारीरिक सुगठन तथा फिजिक्स स्पोर्टस् च्याम्पियनसिपमा बिशाल पौडेल र सनम मुलगुठीले नेपालका लागि दुई स्वर्ण जितेका थिए।
नेपालले अहिलेसम्मको नतिजामा ३ स्वर्ण ६ रजत र ३ कास्य पदक प्राप्त गर्न सफल भएको छ । नेपालले अव ४ विधामा प्रतिस्पर्धा गर्नेछ।
प्रकाशित मिति: मंगलबार, भदौ १९, २०८० १९:४२