काठमाडौ । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको सङ्गीत विभागले आव २०७८/७९ सम्पादन गरिने वार्षिक कार्ययोजना सार्वजनिक गरेको छ ।
प्रमुख प्राज्ञ अशोककुमार राईले आफूले नेतृत्व गरेको सङ्गीत विभागबाट ४ कार्यक्रम सम्पन्न गर्ने लक्ष्य लिइएको बताएको हो। प्राज्ञ राईका अनुसार यस वर्ष ४ प्रदेशका ८ स्थानमा नेपाली मौलिक वाद्यवादनसम्बन्धी प्रशिक्षण सञ्चालन गरिनेछ।
प्रशिक्षार्थीलाई पूर्वीय तथा पाश्चात्य सङ्गीतको सैद्धान्तिक ज्ञान दिनाका साथै सम्बन्धित बाजाको ऐतिहासिक पृष्ठभूमि, धार्मिक तथा सांस्कृतिक महत्वका बारेमा समेत ज्ञान प्रदान गरिने छ ।
प्राज्ञ राईले यस वर्ष सनाई, सारङ्गी, मुर्चुङ्गा, बिनायो, पियुङ, टुङ्ना, डम्फु, धिमे, च्याब्रुङ, राई ढोल, धिमाल ढोल, मादल, बाँसुरी र ढोलक वाद्यवादनसम्बन्धी प्रशिक्षण चलाइने बताएका हुन् ।
गण्डकी प्रदेशमा रहेका गन्धर्व समुदायको धार्मिक तथा विभिन्न संस्कार–संस्कृतिमा बजाइने धुनको सङ्कलन तथा रेकर्डिङ गरी अभिलेख राखिनेछ। सोको पृष्ठभूमिसहित वृत्तचित्र समेत बनाइने छ ।
लुम्बिनी प्रदेशमा रहेका मौलिक लोकबाजाका इतिहास, परम्परा र सम्बन्धित जाति तथा समुदायका धार्मिक तथा सांस्कृतिक पक्षको चित्रण गरिनेछ।
यसैगरी लिम्बू जातिमा प्रचलित एकराते तङ्सिङ र राई समुदायको मृत्युु संस्कारसँग सम्बन्धित मुन्धुमी सङ्गीतको अभिलेखीकरण गरिनेछ।
प्रशिक्षणले लोकसङ्गीत, लोकधुन तथा लोकबाजाको अध्ययन, अनुसन्धान, सङ्कलन तथा प्रशिक्षणले सम्बन्धित विधा तथा क्षेत्रको संरक्षण, संवद्र्धन र व्यावसायिकीकरण गर्नमा सहयोग पुग्ने विश्वास लिइएको छ।
“चालु आवमा नेपाली मौलिक लोकबाजा सम्बन्धी पाठ्यसामग्री तयारीको काम अन्तिम चरणमा पुगिसकेको छ”, उनले भने, “पाठ्यपुस्तकका आधारमा वाद्यवादन प्रशिक्षण योजनालाई अगाडि बढाउनेछौँ ।”