काठमाडौँ । हाल मनसुनको न्यूनचापीय रेखाको पश्चिमी भू-भाग सरदर स्थानको उत्तरतिर अवस्थित छ र पूर्वी भू-भाग सरदर स्थानको दक्षिणतिर अवस्थित छ।
साथै नेपालमा हाल भारतको दक्षिण-पश्चिम उत्तर प्रदेश र आसपासको क्षेत्र तथा बङ्लादेशको उत्तर-पश्चिम क्षेत्र आसपासमा रहेको न्यूनचापीय प्रणालीको समेत प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ। गण्डकी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ ।
आज देशभर आंशिकदेखि सामान्य बदली रहने तथा सुदूरपश्चिम र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको मौसमविद् सञ्जीव अधिकारीले जानकारी दिए।
उनका अनुसार लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानमा साथै कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा र मधेस प्रदेशका एक-दुई स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
काठमाडौँमा आज आंशिकदेखि सामान्य बदली भई अपराह्नपख मेघगर्जन/चट्याङसहित क्षणिक वर्षाको सम्भवना रहेको छ। अहिले काठमाडौँमा सामान्य बदली रहेको र वायुको तापक्रम ३२ डिग्री सेन्टीग्रेड रहेको तथा पारदर्शिता आठ किलोमिटर रहेको मौसमविद् अधिकारीले बताए ।
यसैगरी आज राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । बागमती र गण्डकी प्रदेशलगायत देशका पहाडी भू-भागका थोरै स्थानमा र बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाद्वारा प्रकाशित बुलेटिनमा उल्लेख गरिएको छ ।
प्रकाशित मिति: शुक्रबार, भदौ २९, २०८० ०९:०२