दमौली । एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाको भूमिगत विद्युतगृह निर्माणको काम तीव्र गतिमा अगाडी बढेको छ।
आयोजनाको प्याकेज २ अन्तर्गत भूमिगत विद्युतगृह निर्माणको काम तीव्र गतिमा अगाडी बढेको हो ।
यो प्याकेजको ठेक्का चिनियाँ कम्पनी सिनो हाइड्रोले पाएको छ। प्याकेज २ अन्तर्गतको कामको प्रगति ४५ प्रतिशत पुगेको तनहुँ जलविद्युत आयोजनाको प्रबद्र्धक कम्पनी तनहुँ हाइड्रोपावर लिमिटेडका प्रबन्ध सञ्चालक किरणकुमार श्रेष्ठले जानकारी दिए।
आयोजनाको प्याकेज २ को निर्माण कार्यका लागि सिनो हाइड्रो कर्पोरेशनसँग विसं २०७५ असोज १५ गते युएस डलर १ अर्ब १४ करोड १ लाख ८८ हजार ९ सय ५८ र नेपाली रुपैयाँ ३ अर्ब ८३ करोड १३ लाख ६० हजार ३ सय ६१ मा खरिद सम्झौता भएको थियो।
खरिद सम्झौता बमोजिम निर्माण कार्य सुरु गर्न कार्यादेश जारी गरेपश्चात् सिनोले विसं २०७५ माघ ६ गतेबाट आयोजनास्थलमा परिचालित भई निर्माण कार्य जारी राखेको छ ।
यो प्याकेज अन्तर्गत ८९ मिटर लम्बाइ, २२ मिटर चौडाइ र ५१ मिटर उचाइ भएको भूमिगत विद्युतगृह खन्ने काम विसं २०७९ असार १० गते सम्पन्न भएको आयोजनाले जनाएको छ ।
यसका अतिरिक्त मुख्य पहुँच सुरुङ, केबल सुरुङ र सेती नदीको दायाँतर्फबाट बाँधस्थलतरि जाने तथा सर्ज ट्याङ्कतर्फको पहुँच सुरुङ निर्माण सम्पन्न भएको आयोजनाले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, भदौ २९, २०८० १५:२५