भक्तपुर । हिन्दू महिलाहरुको महान पर्व हरितालिका (तीज)का अवसरमा यहाँका प्रमुख शिवालयमा आज बिहानैदेखि महिलाहरुको भीड लागेको छ।
ब्रम्हा, विष्णु र महेश्वरको स्वरुप मानिने भक्तपुरको दत्तात्रय मन्दिरमा आज बिहानैदेखि महिलाहरुको भीड लागेको छ।
दुई किलोमिटर लामो दर्शनार्थीको लाइन लागेपछि मेला व्यस्थापन समितिले लाइन नमिचियोस् भनेर महिलाहरुका लागि टोकनको व्यवस्था गरेको छ।
नेपाल स्काउट, स्थानिय क्लब र महिला सङ्घ-सङ्गठनले स्यंमसेवका रुपमा कार्य गरिरहेका छन् । विभिन्न स्वास्थ्य संस्थाहरुले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेका छन्।
जिल्लाका एम्बुलेन्सलाई मन्दिर परिसरमै तयारी अवस्थामा राखिएको छ भने व्यापक प्रहरी परिचालन गरेर सुरक्षाको व्यवस्था मिलाइएको छ। मन्दिर परिसरमा दर्शनार्थी महिलाको भीड लाग्नुको साथै महिलाहरुले विभिन्न समूहमा नाचगान गरी तीज मनाइरहेका छन्।
त्यसैगरी आजै सूर्यविनायक नगरपालिका-८ सिपाडोलस्थित डोलेश्वर महादेव मन्दिरमा पनि बिहानैदेखि महिलाहरुको भीड लागेको छ। केदारनाथको शिर डोलेश्वर, आशापुरीदेखि साँगाको अग्लो कैलाशनाथ महादेवसम्ममा दर्शनार्थीको भीड लागेको छ।
आज बिहानैदेखि मन्दिरमा महिला दर्शनार्थीको भीड लागेको मन्दिर विकास तथा संरक्षण समितिका महासचिव हरिशरण बस्नेतले जानकारी दिए। ब्रतालुका लागि लक्षित गरि स्वास्थ्य शिविरसमेत सञ्चालन गरिएको उनले जानकारी दिए।
सिपाडोल कै प्रसिद्ध आशापुरी महादेव मन्दिरमा पनि दर्शनार्थीको भीड लागेको छ । मनले चिताएको आशा पुरा हुने जनविश्वास रहेको आशापुरी महादेव मन्दिरमा दर्शनार्थीहरुको भीड लागेको छ । डोलेश्वरमा दर्शन गर्नेहरु आशापुरी जाने गरेकाले दुवै मन्दिरमा दर्शनार्थीको भीड लागेको हो ।
त्यस्तै सूर्यविनायक-१ सिरुटारस्थित गुप्तेश्वर महादेव मन्दिर, सोमलिङ्गेश्वर महादेव, चरखण्डिश्वर महादेव, वडा नं ४ स्थित अनन्तलिङेश्वर महादेव, वडा न ५ को सुवर्र्णेश्वर महादेव, वडा नं १० चित्तपोलमा रहेको साँगास्थित अग्लो कैलाशनाथ महादेव, चित्तपोलकै लटरम्बेश्वर महादेव, चाँगुनारायणको यातु महादेव, चाँगुनारायण मन्दिरहरुमा दर्शनार्थीको भीड लागेको छ।
तीज पर्वमा महिलाहरुले आज निराहार ब्रत बसी आफ्ना पति, घर परिवारको लामो आयु, सुख, सम्वृद्धिको कामना गर्दै साँझ महादेव मन्दिरमा दर्शन गर्ने र नाचगान गर्दै यो पर्व मनाउने गर्दछन् ।
प्रकाशित मिति: सोमबार, असोज १, २०८० १२:५२