काठमाडौं । नेपाल ओलम्पिक कमिटीको तत्वावधान तथा स्पोर्टस फर अल कमिशनको आयोजनमा ओलम्पिक डे २०२१ मनाइएको छ ।
सातदोबाटोस्थिति कमिटीको मुख्यालयमा आज आयोजित एक विशेष कार्यक्रमबीच सम्पूर्ण सुरक्षा अपनाएर ओलम्पिक डे मनाइएको हो।
आयोजित ओलम्पिक डे अवसरमा युवा तथा खेलकुद मन्त्री एकबाल मियाँले नेपालको भण्डा झण्डोत्तोलन गरी उक्त कार्यक्रम भएको थियो भने कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीको झण्डा झण्डोत्तोलन गरेको थियो।
त्यसै अवसरमा युवा तथा खेलकुद मन्त्री मियाँ र अध्यक्ष श्रेष्ठबीच मैत्रीपूर्ण टेबल टेनिस पनि भएको थियो।
त्यसपछि आयोजित मुख्य कार्यक्रममा कमिशनका अध्यक्ष विष्णुगोपाल श्रेष्ठले ओलम्पिक डेको महत्त्व बारे प्रकाश पार्दै नेपाली खेलकुद र समग्र समाजमै भातृत्व र शान्ति बढ्ने बताए।
यस्तै मन्त्री मियाँले नेपाली खेलकुद विकासका लागि सामुहिक प्रयास आवश्यक भएको र आफू नेपाली खेलकुदको विकासमा सबै प्रकारले सहयोग गर्न तयार रहेको बताएका थिए ।
गायनकासाथ प्रस्तुत गरिएको आयोजित कार्यक्रममा कमिटीका पूर्व अध्यक्ष ध्रुवबहादुर प्रधान, उपाध्यक्ष तथा कार्यकारी निर्देशक चतुरानन्दराज बैद्य तथा महासचिव निलेन्द्र श्रेष्ठको उपस्थिति थियो ।
नेपालमा सन् २०११ देखि प्रत्येक वर्ष ओलम्पिक डे मनाउँदै आएको छ । यसपल्ट कमिटी, यस मातहतका विभिन्न संघ संस्थाले २ सय ३१ कार्यक्रमको आयोजना गरेका छन् ।
प्रकाशित मिति: शनिबार, असार ५, २०७८ १४:५९