संसारका हरेक धार्मिक शास्त्रहरुले मानव सभ्यताको विकास मानिस कै अथक प्रयासबाट सम्भव भएको कुरामा जोड दिएको छ। मानिसको संख्या बढ्दै जानुको पछाडि सुरुवातमा कुनै जात समुदाय र सम्प्रदाय नभई मात्र एउटा स्वास्नीमान्छे र लोग्ने मान्छेकै हात रहेको कुरा मनुस्मृति कुरान र बाइबल जस्ता विश्वका चर्चित धार्मीक ग्रन्थहरुले पुष्टि गरिसकेको छ।
यो दृष्टिकोणबाट हामीले हामीलाई हेर्दा बिशेष रुपले हामी कोही पनि भिन्न जात सम्प्रदाय र समुदायका हौं र हाम्रो अन्य मानिसको तुलनामा पृथक अस्तित्व र चिनारी छ भन्ने आधार पनि रहँदैन। यसरी धार्मिक ग्रन्थहरुको आधारमा हाम्रो सृष्टि भएको कुरामा हामी विश्वस्त हुने हो भने सम्पूर्ण विश्व समुदायलाई नै एउटा परिवारका रुपमा हामीले हेर्नुपर्ने हुन्छ्र।
यदि हामीले माथिको कुरामा विश्वास नगर्ने हो भने विश्वका सम्पूर्ण धार्मिक ग्रन्थहरू गलत भनेर स्वीकार्नु पर्ने हुन्छ। तर, माथि उल्लेखित ग्रन्थहरुसँग सम्बन्धित धर्ममा विश्वका धेरै मानिसहरु समर्पित भएकाले यो कुरा स्वीकार्न कसैले पनि सक्दैन तसर्थ अहिले विश्वभरि देखिएको देश जात सम्प्रदाय र समूहबीचको फाटो निरर्थक भएको कुरालाई माथिका तथ्य गत पंक्तिहरूका आधारमा हेर्दा सजिलै मान्नुपर्ने हुन्छ। जुन व्यवहारत सत्य पनि हो ।
अहिले हाम्रै मुलुकमा पनि जात र धर्मका नाममा देखिएको मनमुटावलाई समयमै हामीले निस्तेज नगर्ने हो भने भयावह परिस्थितिको सामना गरी हामीले वर्षौंदेखि जोगाइरहेको भाइचारा एकता र सद्भाव पनि संकटमा पर्न जाने निश्चित छ।
वास्तवमा हामीले मानव सभ्यताको विकास र उत्पतिको तथ्यगत विश्लेषण गरी यथार्थ चिन्तन र मनन समयमै गरेनौं भने हामी सम्हालिन नसक्ने अवस्थामा पुग्ने छौ र आफ्नै सभ्यता र जन्मको सत्य अवस्थाको निरूपण गर्न नसकी आफ्नै कारणले आफै सिद्धिने छौ।
कुनै पनि जात सम्प्रदाय र समूहले आफ्नो जन्म र जीवन–यापनमा फरक पृष्ठभूमि र फरक अस्तित्वको खोजी गर्नु भनेको संस्कार र संस्कृतिको विकास क्रमको धरातलीय यथार्थबाट वञ्चित रहनु हो। हरेक संस्कार र संस्कृति तत्कालीन अवस्थामा रहेका मानिसहरुले आआफ्नो अनुकुलतामा निर्माण गरेका हुन कुनै चमत्कार अथवा अदृश्य शक्तिका कारण विभिन्न संस्कार र सस्कृतिको उत्पत्ति भएको होइन भन्ने कुरा हामीले बुझ्न सक्नुपर्छ।
त्यस्तै विभिन्न भाषाहरूको पनि पृथ्वीको गर्भबाट अथवा कुनै अदृश्य शक्तिका कारण जन्म भएको होइन। मानिसहरुलाई तत्कालीन अवस्थामा बोधगम्य गर्न सरल जुन शब्दले गरायो त्यही शब्द समुदायमा प्रचलित हुँदै स्थापित हुन पुग्यो र त्यसले एकआपसम आ–आफ्नो विचारहरु आदान प्रदान गर्न सरलीकरण पनि गर्याै।
संसारका हामी कोही पनि पृथक हैसियत भएका मानिस होइनौँ भन्ने कुरा मानव सभ्यताको विकासक्रमले परिष्कृत र परिमार्जित हुँदै गएर अहिलेको यो हाम्रो आधुनिक जीवन शैली हामीले प्राप्त गरेबाट बुझ्न सकिन्छ ।
तर, आधुनिक र विकसित हाम्रो जीवनशैलीका कारण हामी सुविधाको पराकाष्ठामा जसरी पुग्यौं त्यसरी नै ढुङ्गे युगदेखि हामीले सम्पूर्ण मानव सभ्यताको विकासक्रममा व्यहोर्नुपरेको पीडादायी स्मरण का कारण हामीमा हुनुपर्ने एकता र सद्भाव हाम्रै आत्मकेन्द्रित सोचका कारण हराउँदै गयो । जसले गर्दा आज सम्पूर्ण विश्व समुदाय नै आफ्नो देशको सिमा जात र सम्प्रदायको प्रतिनिधित्व गर्नुलाई नै आफ्नो मुख्य दायित्व भएको कुरामा केन्द्रित हुनु पुग्यो ।
यही क्रम बढ्दैजाने हो र हामीले सम्पूर्ण मानव समुदायको उत्पत्ति र विकास को मुल मर्म र मानवताको अर्थलाई भुल्दै जाने हो भने हामी विश्व समुदायका सम्पूर्ण मानवजाति युद्धको चपेटामा पर्न गई हाम्रो पुर्खाले दुःखले आर्जेको मानव सभ्यताको विकासका कारणबाट प्राप्त खुशीहरु नष्ट हुनेछन्। अनि हामीले आफूलाई विवेकी र बुद्धिमान प्राणीका रूपमा स्थापित गराएको कुराको पनि कुनै अर्थ रहने छैन् ।
त्यसैले आज मानव सभ्यताको विकासक्रममा मानिसका जात धर्म देश संस्कार र संस्कृति हामी आफैंले उत्पत्ति गराएको त्यसभन्दा पहिले सीमा विहिन विश्व नै हाम्रो देश रहेको भन्ने यथार्थलाई हामीले मनन् ग¥यौ भने हामीले आन्तरिक र बाह्य कुनै पनि हिंसाको सामना गर्न नपरी शान्तिपूर्वक मानव सभ्यताको रक्षा गरि हाँसीखुसी बस्न सक्ने थियौं।
नत्र आफूलाई पृथक बनाउने होडमा अमानवीयता फैलिएर पृथ्वीबाट लोप भएका जनावरहरु जस्तै हामीले कुनै अमुख शक्तिको कल्पनाको पात्र बन्नु पर्नेछ।
अनि याे पनि :
नामी साप्ताहिक