हाङ्जाउ । १९औँ एसियाली खेलकुद, २०२३ अन्तर्गत चीनको हाङ्जाउमा आज भएको खेलमा नेपाली महिला सुटर श्लिषा भण्डारीले पहिलो अन्तर्राष्ट्रिय प्रतियोगितामै १० मिटर एयर राइफलमा नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेकी छिन् ।
उनले कुल ६१६ दशमलव ९ अंक जोड्दै नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेकी हुन् । यसअघि उक्त कीर्तिमान कल्पना परियारको नाममा थियो।
परियारले उक्त कीर्तिमान सन् २०२० मा जापानको टोकियोमा भएको ओलम्पिकमा कायम गरेकी थिइन् । उनको नाममा ६१६ दशमलव ८ अंकको कीर्तिमान थियो।
भण्डारीले सुरुआतका तीन चरणमा १ सय १ दशमलव १, १ सय दशमलव ३ तथा १ सय २ दशमलव ५ स्कोर बनाएकी थिएन्।
उनले त्यसपछिको तीन चरणमा १ सय पाँच, १ सय ४ दशमलव ८ तथा १ सय ३ दशमलव २ स्कोर गरिन्। १९ वर्षीया भण्डारीले गत वर्ष गण्डकी प्रदेशमा सम्पन्न नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताबाट आफ्नो खेल यात्रा प्रारम्भ गरेकी थिइन्।
प्रकाशित मिति: आइतबार, असोज ७, २०८० २१:५९