-अर्पणा केसी
शून्य परिसूचकको परिधिभित्र
मौनतामा अल्झिएको एउटा देह
निभेका दियोका पोखिएका तेल
जस्तै लत्त पत्त भुइँभरी हुँदै गइरहेको छ।
अशुभ घडिको चिनारीमा
अमृत मानेर पिएको अपनत्व
क्रमश बिष बनिदिँदा
जिन्दगी कालो छाँया बनेर
आफैं देखि तर्कीरहेछ
मुढो झै एउटा अध्यारो कुनोमा
ढलिरहेछ एक्लै
बिल्कुलै एक्लै।
मेरा शरीरका केही
नुनिला थोपा बग्दैमा
मेरा रगतका केहि नशा
चुडिँदैमा थोरै रगत बग्दैमा
बिस्तारै बिस्तारै
एक्लो हुदैछु म
भन्ने भ्रम नपाल्नु तिमीले
म हिजै एक्लै जन्मिएको हुँ
कुनै अचम्म र अनौठो छैन।
क्रमशः उमेर ढल्किदैछन
टुट्दैछन नशाका साथहरु
उत्त रक्तचाप हुदैमा
मेटिए मेरा आशाहरु
भन्ने नसोच्नु तिमीले
होला रोगले अलिकति गलाएका
र किनारमा लगेर पछारेका
तर पनि म बग्दैछु
जसरी नदी बगिरहेकी छिन
त्यसैगरी ।
होला मेरा केहि समय र पल च्यातिए
केहि पोखिए होलान्
म समेट्दैछु हर चिज
मिलाउदैछु व्यबहार
र पनि सिएकै छु
हर उध्रीएका परिस्थिति ।
कर्तव्यको बर्को ओढेर
अनवरत यात्रामा दौडिरहेकी म
कर्मको खेतमा साङ्लोले बाधिएर
अरुकै निम्ति भाग्य बिक्री गर्दै
फोहरै फोहरको थुप्रोमा मिश्रण
जैविक फोहर जस्तै जिन्दगी गलाईरहेकी छु।
फराकिलो आकाश मुनि
यहीँ धर्तीमा साघुरिदै गरेको मनको मझेरीमा
आकांक्षाका फूलहरुलाई
मन गढन्ते समाजको बगैंचामा
असिनाले नचुटोस् भनेर नै
काँडाहरुसंग जुधिरहेकी छु
निस्पाप निस्कलंक
चिल कौवा र गिद्धहरुले लखेटीरहेका छन्
हिलो छ्याप्नेहरुको कमी छैन।
र पनि यो संघर्ष हो
म निरन्तर लडिरहेकी छु
ए जिन्दगी तँ संग युद्ध गरिरहेकी छु।
तँ जति बाधा ब्यबधानका तगारो लगा
म पन्छाई अघि बढिरहनेछु।
केही मिठाई र लालिपप
देखाउदै हात बढाएर
नीरिह अवला सम्झेर
नैतिकताको खास्टो खोस्न नखोज जिन्दगी
कतै कमजोर छैन म
यो युद्ध जितेरै बिदा हुनेछु।
प्रकाशित मिति: आइतबार, असार ६, २०७८ ०९:४४