धेरैपछि काठमाडौँ आउने जमर्को मिल्यो त्यो पनि हवाई जहाज चढेर। एयरपोर्टमा पुरानो मित्र लिन आउनुभएको थियो। धेरै बर्षको अन्तरालपछि मिलनको कस्तो मज्जा, दुवै रमाएथ्यौ।
गफगाफको क्रममा प्राय अतितका ति गल्लीहरुमा निकैबेर रुमल्लिएछौ, घर अगाडी आइपुगीसकेछ। ट्याक्सीबाट उत्रिने बित्तिकै अनायासै मुखबाट निस्कियो 'भानुभक्तको कान्तिपुरी नगरी आज कस्तो भयो।'
मेरो सुस्केरा नसकिँदै साथीले भन्यो, 'मरिसकेको नगरीको कुरा नगर तिमी। केहि दिन बस, तिमीले अरु के के देख्छौ।' मेरो जिज्ञासाले भरिएको आँखा पढेछ उसले शायद, भन्न थाल्यो 'यहाँ नैतिकता, धर्म, शान्ति, व्यवस्था, सबै मरी सक्यो। एउटा मशान झैँ डर लाग्दो ठाउँमा आएछाै साथी, राम्ररी होश सम्हालेर हिँड। होश सम्हालेरै बोल।' उसको कुराले बिचलित भएको म अझ अरु कुरा जान्ने कौतुहलता संगाल्दै घरभित्र छिरे।
भोलिपल्टको बिहानीपख अर्को एउटा मित्रसँग घर नजिकै जम्काभेट भयो। स्कूल पढ्दा 'पुड्केु' उपनामले प्रख्यात यी मित्र स्वभावले हक्की नै हुन्। 'ए लाहुरे कहिले आइस विदेशबाट? उसको प्रश्न मैले सोचे झै नै थियो। 'हिजो मात्र आएको साथी। के छ हालखबर तिमीहरुको? सिष्टाचार प्रश्तुत गरे मैले। 'के हुनु हाम्रो, बरु तिमीहरुकै होलानी! म अहिले हतारमा छु। तल खेत बिक्रि गर्ने शुरमा छु। जग्गा हेर्न मान्छेहरु आएका छन्। म पछि भेटुला है।'
यति भन्दै बिदा भएथ्यो 'पुड्के'। मनमनै सोचे यसरि सबैले जग्गा बेचबिखन नगरि दिएको भए अथवा बेचबिखन गर्ने एउटा निश्चित मापदण्ड तयार गरेको भए मेरो 'कान्तिपुरी नगरी' आज शायद जिवितै हुन्थ्यो होला।'के टोलाई रहेको लाहुरे?' अर्को साथी आफ्नै अगाडी आएर उभिएको रहेछ, आफूलाई चाहीँ पत्तै भएन। 'के हुनु यार 'कान्तिपुरी नगरी' को बारेमा सोचिरहेको नि।'
साधारण भलाकुसारी पश्चात उसले भन्यो 'यार तिमी त विदेश गएर ठिकै गर्यौ। हामी त यहाँ धमिरा जस्ता भएर बस्न बाध्य छौ। आफ्नै घरलाई भित्रभित्रैबाट खोक्रो पारि सक्यौ। नखाएर पनि कसरी बाँच्नु अनि खानलाई अरु केहि छैन सिबाय आफ्नै घरको भित्ता बाहेक। बरु तिमीले बिदेशी ल्याको होला, दुई चार 'पेगु लडाउन सँगै। नमात्तेको धेरै भयो।' धमिराको कुरा अनि मात्तिने कुरा एक आपसमा अलि विरोधाभाष झैँ लाग्यो किन हो मलाई। उसको कुरा नसुने झै अगाडि बढेथेँ म।
केहि दिन पछिको कुरा हो, मलाई घरमा नै भेट्न आयो मेरो अर्को साथी। हामी कलेजताका खुबै मिल्थ्यौ। हालखबर आदान प्रदान पश्चात सोध्यो उसले, 'तिमी त झण्डै दुई दशक पछि नेपाल आएछौ। कमाई धमाई त राम्रै छ होला। हेर न, मलाई अलि सार्हो छ अहिले, केहि मद्दत गर न। तिम्रो गुण कहिले बिर्सन्न।' म छक्क परे। राणाजीको छोरा भन्थे म उसलाई। के पो थिएन र! अहिले मेरो सामु भिखारी झैँ पैसा माग्दै छ।
'म त पैसा नलिकन आएको छु साथी। यहाँ बसुन्जेललाई मात्र पुग्छ।' भन्दै जसो तसो छुटकारा लिनु परेथ्यो मैले।त्यहि दिन साँझपख ठमेलतिर एक हुल साथीहरु भेट भयो। साह्रै रमाइलो समय रह्यो हामी सबैलाई। छुट्टिने बेलामा मलाई 'थापा' ले भनेको अझै याद छ 'बचेर हिँड है केटा। पैसा सैसा लेराको होलास्।' हाम्रो 'भुन्टे' अहिले डन भाको छ। मन्त्रिहरुको Right Hand। मलाई विश्वास गर्न धेरै बेर लागेको थियो। थापाले मलाई राजनीतिमा लागेर मन्त्री अनि अन्य उच्च ओहोदामा रहेका साथीहरुको बर्णन पनि गरेको थियो। साथीहरुको बर्णन गर्दै जादा कतै गर्ब त कतै चिन्ता अनि कतै क्रोधको महसुश गरिरहेथेँ मैले।
आज निकै सोचमा डुबेको छु म। साथीहरुको यत्रो ठूलो भिडमा मैले कसलाई भेटे, किन भेटे आफैलाई प्रश्न बनिरहेछ।कोही समझदार छन् देशको चिन्ता गर्छन। कोही धमिरा सरह छन्, देशलाई खोक्रो पारिरहेछन्। कतिलाई केवल आफ्नो मात्र चिन्ता छ। कति सिर्फ अरुलाई ठग्न खोज्छन। कसैलाई पिउनको ध्याउन्न छ। मैले कोही भेटिन मेरो 'कान्तिपुरी नगरी' लाई पुनर्जीवित गराउने।