काठमाडौं। कागेश्वरी मनोहरा नगरपालिका-२ मा खानेपानीको उत्कृष्ट सेवा प्रदान गर्दैआएको आलापोट खानेपानी तथा सरसफाई उपभोक्ता समितिको दोश्रो बार्षिक साधारण सभा सम्पन्न भएको छ।
आलापोटको बालबिकास माध्यमिक विद्यालयको सभाहलमा आलापोट खानेपानी तथा सरसफाई उपभोक्ता समितिको दोश्रो बार्षिक साधारण सभा सम्पन्न भएको हो।
आलापोट खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष भक्तलाल नगरकोटीको सभापतित्वमा सम्पन्न बार्षिक साधारण सभामा समितिका सचिव बालकृष्ण श्रेष्ठले प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए।
सचिव श्रेष्ठले प्रगति प्रतिवेदन प्रस्तुत गर्ने क्रममा आलापोट खानेपानी तथा सरसफाई उपभोक्ता समितिले विगतका बर्षहरुमा खानेपानीको क्षेत्रमा गरेका दुःख तथा संघर्षलाई जस्ताको तस्तै प्रस्तुत गरेका थिए।
काकाकुल आलापोटवासीलाई स्वच्छ तथा सफा पानी वितरण गरेर उत्कृष्ट कार्य गर्न र गराउन समिति सफल भएको कुरालाई पनि सचिव श्रेष्ठले बताए।
कार्यक्रममा कोषाध्यक्ष नानी थापाले आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन्। सभामा आलापोट खानेपानी तथा सरसफाई उपभोक्ता समितिका संस्थापक अध्यक्ष शिवराम बस्नेत, कागेश्वरी मनोहरा नगरपालिका-२ का वडाअध्यक्ष सुरज थापा, सहयोगी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष रामेश्वर श्रेष्ठ लगायतले समितिको उत्तरोत्तर प्रगतिको लागि शुभकामना मन्तव्य दिएका थिए।
कार्यक्रममा कागेश्वरी मनोहरा नगरपालिका-२ का वडा सदस्य महेश्वर श्रेष्ठ, वडा सचिव सुदर्शन फुयाँल,महेन्द्र श्रेष्ठ लगायतको आतिथ्यता थियो। कार्यक्रम संचालन आलापोट खानेपानी तथा सरसफाई उपभोक्ता समितिका उपाध्यक्ष प्रदीप फुयाँलले गरेका थिए।
एक घर एक खानेपानीको धारा वितरण गर्ने नीति अनुरुप समितिले हालसम्म ७ सय धारा वितरण गरिसकेको र त्यसलाई विस्तार गरेर १ हजार पु-याउने लक्ष्य पनि राखेको जनाएको छ।
प्रकाशित मिति: शनिबार, असोज २७, २०८० १४:१४