सोलुखुम्बू । थुलुङ दुधकोशी गाउँपालिकाले शैक्षिक गुणस्तर वृद्धिका लागि वडा शिक्षा समितिलाई थप सक्रिय बनाउने भएको छ।
पालिका अध्यक्ष असिम राईको अध्यक्षतामा मंगलबार बसेको कार्यपालिका बैठकले हरेक दुई महिनाको पहिलो शुक्रवार समितिको बैठक बसि पालिकामा रिपोर्ट दिनुपर्ने निर्णय गरेको हो ।
शैक्षिक गुणस्तरका निम्ति वडा शिक्षा समितीलाई प्राप्त अधिकार प्रयोग र परिचालनमा जोड दिइने निर्णय गरिएको पालिका अध्यक्ष असिम राईले जानकारी दिए।
रिड नेपाल लगायत शैक्षिक क्षेत्रमा काम गर्ने परियोजना र विज्ञ सङ्गको सहकार्यमा शैक्षिक योजना निर्माण गरेको भन्दै पालिका अध्यक्ष राईले शैक्षिक क्यालेण्डर अनुसार शिक्षण सिकाइका कार्य भइरहेको बताए।
वडा भित्रभएका शैक्षिक गतिविधि, शिक्षण सिकाइमा अभिभावक, व्यवस्थापन समिति र शिक्षकको भुमिका लगायतमा विषयमा प्रतिवेदन पठाउने पालिका प्रवक्ता भोजराज कार्कीले जानकारी दिए। राम्रो काम गर्नेलाइ प्रोत्साहनका कार्यक्रम लागू गरिने विषयमा पनि बैठकमा छलफल भएको उनको भनाइ छ।
आफ्नै श्रोतबाट जनशक्ति अभाव भएको विद्यालयका लागि अनुदानमा शिक्षक व्यवस्थापन गरेको पालिकाले यस अघिनै इ हारिजी प्रयोगमा ल्याएको छ।
गाउँपालिका प्रवक्ता भोजराज कार्कीका अनुसार हरेक वडाले आ-आफ्नो ढंगबाट शैक्षिक सुधारका कार्यक्रम सञ्चालन गरिरहेको भएपनि अझै सोचेको जस्तो नतिजा ल्याउन सबै क्षेत्र थप सक्रिय हुनुपर्ने छ।
सबैभन्दा बढी राज्यको लगानीमा शिक्षा क्षेत्रमा भएपनि नतिजा सोचेजस्तो नआएकाले सबै संयन्त्र परिचालनका लागि विभिन्न विधि निर्माण गरिने पालिकाले जनाएको छ।
यस्तै सोही बैठकले खाने तेल प्रतिस्थापनका लागि तेलहन बालीलाई अभियानको रुपमा अघि बढाउने निर्णय गरेको छ। भर्खरै कृषकको माग अनुसार तोरिको बीउ वितरण गरेको पालिकाले आफुले खाने तेल तथा घ्यू नागरिक आफैले उत्पादन गर्नुपर्ने नीति लिएको छ।
त्यस्तै, खाने तेलमा आत्मनिर्भर बनी वार्षिक नौ करोड बढी बाहिर जाने रकम रोक्ने अभियान जारी रहेको पालिका अध्यक्ष असिम राईले बताए।
प्रकाशित मिति: बुधबार, कात्तिक १, २०८० १२:३३