काठमाडौँ। नेपालीहरुको महान पर्व बडादशैंको आज सातौँ दिन अर्थात फुलपाती । फुलपातीको अवसरमा विभिन्न शक्तिपीठ, दशैघर, कोत तथा घरहरुमा फूलपाती भित्राउने कार्य भएको छ । बडादशैंको पहिलो दिन घटस्थापनामा माता दुर्गालाई आह्वान गरेर विधिपूर्वक पूजा गरेको स्थानमा उखु, अशोकको फुल, हलेदो, धानको बाला, बेलपत्र, केराको बोट, दारिम, जयन्ती लगायतका पालुवा–फुलपाती भित्र्याउने गरिन्छ।
काठमाडौंमा हनुमानढोका दरबारको दशैंघरमा गोरखाबाट ल्याइएको फुलपाती भित्र्याउने परम्परा छ। फुलपाती दुई थरिका जातिले भित्र्याउने चलन रहेको छ। गोरखाबाट धादिङको जीवनपुरसम्म गोरखा दरबारको दशैंघरका पुजारीसहित मगर जातिका ६ जनाले ल्याउने र धादिङको जीवनपुरदेखि जमलसम्म काठमाडौँबाट गएका ब्राह्मण जातिका ६ जनाले ल्याउने प्रचलन छ।
जमलबाट हनुमानढोकासम्म भने निजामती सेवाका उच्चपदस्थ अधिकारी, नेपाली सेनाको ब्यान्डबाजा, गुर्जुको पल्टन, नेपाली सेनाको ब्यान्डबाजा, पन्चेबाजा र नाचगानका साथ फुलपाती भित्र्याउने गरिन्छ। बडामहाराजधिरा पृथ्वीनारायण शाहले काठमाडौँमा विजय प्राप्त गरेको समयदेखि शुरु भएको फुलपाती भित्र्याउने परम्परा कायम छ। आजकै दिन राती कालरात्रि देवीको पूजा समेत गरिन्छ।
प्रकाशित मिति: शनिबार, कात्तिक ४, २०८० ०८:२७