काठमाडौं । नेपालका पूर्वराजा ज्ञानेन्द्र शाहले विजया दशमीको उपलक्ष्यमा देश–विदेशमा रहेका नेपालीहरुलाई शुभकामना सन्देश दिएका छन्। असत्यमाथि सत्यको जितको रुपमा रहेको नेपालीहरुको महान चाड बडादशैंले सहि सत्य देवी शक्तिको संबद्र्धन गर्न प्रेरणा प्रदान गरुन भन्ने शुभकामना पूर्वराजा ज्ञानेन्द्र शाहले दिएको हो।
शुभकामना सन्देशमा पूर्वराजा शाहले अग्रगतिको नाममा भनेर आएको परिवर्तनले केही गर्न नसकेको भन्दै देश झन झन खराबीतर्फ उन्मुख भएको स्मरण गर्दै व्यक्तिगत स्वार्थ, दलीय भागबण्डा, आपसी राजनीतिक द्धन्द, चरम भ्रष्टाचार र बेथितिबाट जनता आजित भएको अवस्थामा जनताले उत्साह, उल्लास र उमंगका साथ चाडबाड मनाउन पाउने वातावरण नरहेको स्पष्ट पारेका छन्।
नेपालीकोे जीवनयापन पनि कष्टकर बन्दै गएको भन्दै उनले जनताले खोजेको र रोजेको सही पात्रबाट जनहितमा गतिलो काम अघि बढ्न पाउनु पर्छ भनेका छन्। हिमाल, पहाड र तराईमा बसोबास गर्ने जो विविध वर्ग, समुदायमा रहेतापनि हामी सबै नेपाली भएको भन्दै सबै नेपाली माली बनेर साझा फूलवारीलाई सजाउनु, भन्ने सन्देश दिएका छन् । साथै उनले कसैले कसैप्रति निषेध र निन्दा नगरी आस्था उपर उदारभाव राख्न हाम्रो प्रयत्न हुनै पर्छ भन्ने सन्देशमा उल्लेख गरेका छन्।
डेढ दशक यताका अवधिमा एकतिहाइ जनसंख्या देशबाहिर रहेको स्मरण गर्दै उनले विदेशिएका र देशमै रहेबसेका दुबैथरीमा विछोडको पीडा महशुस भएको प्रतिक्रिया दिए।
प्रकाशित मिति: शनिबार, कात्तिक ४, २०८० ०९:२४