–प्रज्वल घिमिरे
सानै उमेरदेखि अत्यन्त मिलनसार र बौद्धिक बहसहरु सुन्न र आवश्यकता परे आफ्नो विचारहरु व्यक्त गर्न पछि नपर्ने उमेश रेग्मीसँग म सानैदेखि परिचित थिए । उनको र मेरो बिच टाढाको नाता पनि थियो । काठमाडौंको रैथाने बासिन्दा उमेशको घर कालधारामा म आफ्नो विद्यालय छुट्टी हुँदा पुगी रहन्थेँ । उमेशको ठूलीआमा मेरो आमाको बैनी भएकोले उमेशसँग मेरो सानै उमेरदेखि संगत गर्ने मौका जुरेको थियो ।
काठमाडौंको लैनचौरको शान्ति विद्यागृहबाट एसएलसी उत्तीर्ण गरेका उमेश सानैदेखि पढाइमा जेहेन्दार विद्यार्थीका रुपमा चिनिन्थे । उनका आफन्तहरुमा र विद्यालयमा पनि सायद त्यसैले होला उनको प्रशंसकहरु धेरै थिए । तार्किक क्षमता र उच्च बौद्धिक क्षमता उनमा कलिलै उमेरदेखि भेटिन्थ्यो विज्ञान विषय लिएर उच्च शिक्षाको अध्ययन गरेका उमेशको साहित्यमा कलम चलेको देखेर आश्चर्यमा म त्यो दिन परे जुन दिन मैले उनको देखाउने प्रतियोगिता भन्ने निबन्ध पढेँ ।
उमेश तार्किक तृष्ण मस्तिष्कको र बौद्धिक भएता पनि मलाई उनको साहित्यिक लेख रचनाहरूमा प्रखर रूपले कलम चल्ला भन्ने चाहिँ पटक्कै लागेको थिएन तर हरेक मानिसको क्षमता र प्रतिभा कुन बेला कसरी प्रस्फुटित हुन्छ भन्ने कुरा कसैलाई पनि थाहा नहुने रहेछ । उमेशको हकमा मलाई त्यस्तै भयो ।
सुरुमा मैले उनको हाँस्यव्यंग निबन्धहरु पढ्दा मेरो मन अत्यन्त आनन्दित भयो । सायद नेपाली हाँस्यव्यंग कृतिहरु पढ्ने क्रममा धेरैपछि मलाई उमेशले भैरव अर्यालको पुनरावृत्ति भएको महसुस गराए । लेखनशैली बिचारको गहनता र प्रस्तुतीकरण सारैनि उच्चकोटीको देखियो उमेशको निबन्धहरुमा जुन भैरव अर्यालको निबन्धहरुमा पनि भेटिन्थ्यो । उच्च साहित्यिक रचनाहरूले रसको अनुभूति गराउँदा सामाजिक संरचना मानवीय स्वभाव मनोविज्ञानको पर्यायका रुपमा आफ्नो भूमिका निर्वाह गरी पाठकहरुलाई हर्षित र आनन्दित तुल््याउने काम गर्दछ।
संसारको कुनै पनि समाजको आन्तरिक परिस्थिति र त्यहाँका मानिसहरूको स्वभावको अध्ययन गर्न साहित्यले महत्वपूर्ण भूमिका खेलेको हुन्छ । साहित्य भनेकै समाजको अर्को रूप हो जसको अध्ययनबाट व्यवहारतः न भोगेर नै धेरै ठूलो अनुभव हासिल गर्न सकिन्छ्र ।
भैरव अर्यालको चर्चित निबन्ध सङ्ग्रह जय भुँडी अध्ययन गर्ने सबै पाठकहरुले तत्कालीन नेपालको राजनीति सामाजिक परिवेश र मानवीय स्वभावलाई बुझ्न सजिलै सक्छन् । किनकि साहित्य भनेकै समाजको अर्को नाम हो लेखकहरुको सुक्ष्म र गहन विश्लेषणले जहिलेपनि पाठकहरुलाई सत्यको नजिक पुर्याइदिन्छ, जसरी दैव भनेको सत्यको अर्को रुप भनेर बुझिन्छ त्यसरी ने सर्जकहरु अन्य मानिसहरूको तुलनामा सबैलाई धेरै प्रतिशत सत्यको जानकारी दिन सक्षम हुन्छन् ।
दैवीय गुण र क्षमता सर्जकहरुमा धेरै भेटिन्छ्र भैरव अर्याल त्यसै नेपाली समाजमा लोकप्रिय हाँस्यव्यंग लेखक भएका होइनन् । उनका रचनाहरू ज्यादै बौद्धिक उच्चकोटिको गहन र शाश्वत सत्य सोचबाट मुखरित भएका कारणले उनको तुलनामा आजसम्म नेपालमा क्षमतावान् हाँस्यव्यंग लेखक कोही पनि भेटिएका छैनन् । तर नेपाली हाँस्यव्यंग लेखन क्षेत्रमा हाल लण्डनमा बसोबास गर्दै आएका उमेश रेग्मी भैरव अर्यालकै जस्तै प्रतिभा लिएर नेपाली साहित्य आकाशमा देखापरेका छन् । उनका उखान–टुक्का देखाउने प्रतियोगिता लहै लहै स्वादे जिब्रो हराएको देश कति कुर्नु नामको खेल मेरो टाउको जस्ता सबैले रुचाएका निबन्धहरूको चर्चा नेपाली हास्यव्यंग्य क्षेत्रमा व्यापकरुपमा हुन थालेको छ ।
नाताले भैरव अर्यालको आफ्नै भान्जा पर्ने उमेश आफ्नो लेखनी क्षमताका कारण भैरव अर्यालको पुनर्जन्म पाएर आएको जस्तो देखिन्छन् । यदि भैरव अर्यालको देहावसान नभएको भए अहिले उमेशले लेखेकै जस्तो विषय सन्दर्भ र परिस्थितिहरु उनले आफ्नो रचनाहरूमा समावेश गराउँथे भनेर भन्न सामाजिक राजनीति क मनोवैज्ञानिक दार्शनिक र बौद्धिक चिन्तनबाट सृजित उमेशका हास्यव्यंग निबन्धहरुबाट सजिलै सकिन्छ ।
तर आफ्नो परिचय आफ्नै नामबाट हुनुपर्छ भन्ने स्वाभिमानी सोचलाई आफ्नो हृदयमा राखेर निबन्ध कविता र कथाहरूको सिर्जना गरी दिनदिनै लोकप्रिय बनिरहेका उमेशलाई आफ्नो मौलिक रचनाहरुका कारण आफूले श्रद्धा र सम्मान गरेको आफ्नै सहोदर मामा भैरव अर्यालको नामबाट चिनाउन पटक्कै मन छैन । यद्धपि धेरैजसो साहित्यानुरागी र समालोचकहरू भने उमेश रेग्मीको लेखाई भैरव अर्याल कै जस्तो उच्च बौद्धिक र दार्शनिक चिन्तनबाट अभिप्रेरित रहेको कुरामा विमति जनाउँदैनन् ।
नामी साप्ताहिकवाट साभार
प्रकाशित मिति: शनिबार, कात्तिक ४, २०८० ११:०१