काठमाडौं । बडादशैंको आज नवौ दिन महानवमी । आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज भगवती दुर्गाको नवौँ रूप सिद्धिदात्रीको पूजा गर्ने गरिन्छ। महानवमीमा दुर्गाको पूजा गरेपछि घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगेर चढाइन्छ । यस दिन पनि शक्तिपीठ तथा दशैँघरमा पशुबलि दिने गरिन्छ ।
महाअष्टमीको राती गरिएको कालरात्रिको पूजा पूर्ण गर्नका लागि महानवमीमा हवन गर्ने विधि छ । खिर, तिल र घिउ मिश्रित चरु देवीलाई हवन गरिन्छ । आजको दिनसम्म शक्तिपीठहरुको दर्शन गर्ने गरिन्छ । महानवमीमा तलेजुको मन्दिर सर्वसाधारणका लागि खुला गरिन्छ । नवरात्रमा दुर्गाका नौ स्वरूपका साथै महाकाली, महालक्ष्मी र महासरस्वतीको आराधना गरिन्छ । देवीका तीन रूपमध्ये महाकालीलाई शक्ति, महालक्ष्मीलाई श्री र महासरस्वतीलाई विद्याकी देवी मानिएको छ ।
दशैंको नौ दिनसम्मको नवरात्र अनुष्ठान महानवमीमा सम्पन्न गरिन्छ भने नवदुर्गाको प्रसाद दशमीका दिन लगाइन्छ । महानवमीको दिन आफू चढ्ने सवारीसाधनको पनि पूजा गर्ने चलन छ । महानवमी तिथिकै दिन चामुण्डा देवीले रक्तवीज राक्षसलाई मारेकोले महानवमी पर्वलाई विशेष महत्वका साथ लिइन्छ । महानवमीका अवसरमा कोतहरुमा हर्षबढाइँका साथ कोतपूजा र निशानापूजा पनि गरिन्छ ।
प्रकाशित मिति: सोमबार, कात्तिक ६, २०८० ०८:३०