नुवाकोट जिल्ला तारकेश्वर गाउँपालिका-६, भमरा भन्ने ठाउँमा विक्रम संवत २०२५ सालमा जन्मिएका खरेन्द्र बहादुर तामाङ (माइला दाइ) सानै उमेरदेखि अत्यन्त मेहनती थिए। उनलाई आफ्नो कामप्रति धेरै मोह थियो। सहयोगी र कर्ममा निष्ठा भएका कारण माइला दाइलाई आफ्नो गाउँमा आफ्नो परिवार लगायत सबैले धेरै मन पराउँथे।
विसं.२०४३ सालमा एसएलसी परीक्षा दिएका माइला दाइ पढाइमा राम्रै थिए। तर, गाउँमा राम्रो आय–आर्जनको काम नपाउने भएका कारण उनी भारतको दिल्लीमा आफ्नै सहोदर दाइ जमेर बसेकाले उतैतिर हानिए। त, आफ्नो परिवार यतै भएकाले माइला दाइलाई पुनः आफ्नो घर परिवारले तान्यो ।
त्यसपछि विसं.२०४८ सालमा भने, काठमाडौ आएर मार्बल गोदाममा काम गरी जीविकोपार्जन गरे। महिला दाइले मार्बल गोदाम बन्द भएपछि छोरा–छोरीको पालनपोषण र शिक्षाको लागि विसं.२०६३ सालमा कुचो बनाउने काम सिके।
अनि, ललितपुर जिल्लाको बागडोलमा कुचोको व्यवसाय शुरु गरी आफ्ना तीन छोरीहरूलाई उच्चशिक्षा हासिल गराई थप अध्ययनका लागि युरोप पठाउन सफल भए। उनका एक छोरालाई भने हाल उनले स्नातकमा अध्ययन गराइरहेका छन्। यसरी सानो कुचो बनाउने व्यवसाय गरी आर्जन गरेको रकमले आज माइला दाइ आफ्नो पाखुरा र बगेको मेहेनतको पसिनामाथि गर्व गर्दै खुशीले जीवन बिताइरहेका छन्।
त्यतिमात्र होइन कुचो बनाउने पेशा गरेर माइला दाइले सबैले गर्व गर्ने, हर्षित र आनन्दित हुनैपर्ने अझ एउटा महत्वपूर्ण काम गरेका छन्। त्यो हो, गाउँबाट आफ्ना वृद्ध मातापितालाई आफूले काम गरी बसोबास गरेको ठाउँ ललितपुरको बागडोलमा ल्याएर तिनको स्याहारसुसार र उपचार। जसलाई यो पंक्तिकारले प्रत्यक्ष देखेको थियो।
तर उनले आफ्नो बलबुताले भ्याएसम्म बचाउने कोशिश गरेपनि दैबले उनका मातापितालाई छिन्यो। हुनेखाने र ठूलाबडाहरुले आफ्ना वृद्ध मातापितालाई आफ्नो लागि बोझ सम्झेर बृद्धाश्रममा लगेर राखेको हामीले धेरै सुनेका छौं। र देखेका पनि छौ।
तर, सबैको प्यारो र उदाहरणीय व्यक्तित्व माइला दाइले थोरै आम्दानीको सामान्य काम गरेर संघर्ष गरि आफ्नो मातापिताको पालनपोषण र उपचार गरेको कुरा लाई सम्पूर्ण नेपालीले अनुकरण गर्न सके अहिले हाम्रो समाजमा देखिएको वृद्धवृद्धामाथिको अन्याय अत्याचार र अपमानको अन्त्य हुने थियो।
याे पनि :
नामी साप्ताहिक
प्रकाशित मिति: शनिबार, कात्तिक १८, २०८० १२:१४