काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले जाजरकोट र रुकुमपश्चिमका विभिन्न अस्पतालमा पुगेर घाइतेको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका छन्।
शनिबार बिहान नेपाली सेनाको हेलिकोप्टरमार्फत स्वास्थ्यकर्मी र राहत सामग्रीसहित भूकम्प प्रभावित क्षेत्रमा पुगेर उनले भूकम्पबाट भएको क्षति, घाइतेको अवस्था लगायतका विषयमा जानकारी लिएका हुन्।
प्रधानमन्त्री दाहालले जाजरकोट र रुकुमपश्चिमका विभिन्न अस्पतालमा पुगेर घाइतेको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिँदै पीडितको साथमा सरकार रहेको भन्दै नआत्तिन आग्रह गरेका छन् । उनले भूकम्पपीडितलाई राहत, पुनःस्थापना र घाइतेको उपचारमा सरकार गम्भीर रहेको बताएका हुन्।
प्रधानमन्त्री दाहालले भूकम्प प्रभावितको उद्धार, राहत र पुनःस्थापनाका लागि सहकार्य र हातेमालोका लागि सम्पूर्ण राजनीतिक दल, निजी क्षेत्र, नागरिक समाजलगायत सबैलाई अपिल समेत गरेका छन् ।
प्रधानमन्त्री दाहालले भूकम्पपीडितलाई राहतका लागि आवश्यक निर्णय गर्न आज आइतवार मन्त्रिपरिषद्को बैठक बोलाएका छन्।
यसैबीच, स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले जाजरकोट र रुकुम पश्चिममा भूकम्पमा परेर घाइते भएकाहरूको सरकारले निःशुल्क उपचार गर्ने बताएका छन्।
स्वास्थ्यमन्त्री बस्नेतले घाइतेहरूको उपचारका लागि स्वास्थ्यकर्मीहरूको टोली घटनास्थल पठाई सकिएको जानकारी दिँदै आवश्यकताअनुसार थप उपचारका लागि औषधिसहित चिकित्सकको टोली तयारी अवस्थामा राखिएको जानकारी दिएका छन् । मन्त्री बस्नेतले प्राकृतिक विपत्तिका बेला सरकारले उपचारमा कुनै कमी हुन नदिने जिकिर गरेका छन्।
प्रकाशित मिति: आइतबार, कात्तिक १९, २०८० ०७:४७