–श्याम स्मृत
ललितपुर । हिँड्दै गर्दा लड्खडाउँदै हिँडिरहेका मानिस भेटिएलान्, भत्किएका सडकका खाल्डाखुल्डीमा हल्लिँदै कुदिरहेका गाडी भेटिएलान्, साँझपख आ–आफ्ना गुँडतिर फर्किँदै गरेका चराचुरुङ्गी भेटिएलान्।
तर, हिँड्दै गर्दा देखिने र भेटिने ती सामान्य लाग्ने परिवेशमा कथा देख्छन् उनी, कथा भेट्छन् उनी । उनी अर्थात् बिक्रम भक्त जोशी।
पेशाले सिभिल इन्जिनियर उनी लामो समय बैंकिङ्ग सेवामा पनि लागे । आइटीमा पनि दखलता हासिल गरे। तर, पैसा र पदले मात्र मनको शान्ति पाइँदो रहेनछ र त उनी विभागीय प्रमुखको पद त्यागेर अवकाश हुन केही वर्ष बाँकी छँदै स्वेच्छिक अवकाश लिएर साहित्य–संसारमा फराल्न पुगे। उनी लेख्छन्, मज्जैले लेख्छन्, आफ्नै मौलिक शैलीमा लेख्छन्।
यात्राका दौरान भेटिएका कथालाई पानामा उतार्छन् र तिनलाई उनी ’निकथा’ भन्ने गर्छन्, जुन उनका अनुसार नियात्रा, निबन्ध र कथाको त्रिवेणी हो! एउटा छुट्टै विधा, जुन उनले प्रयोगमा ल्याए उनको पहिलो पुस्तक ’चोभार ब्लुज’ मा।
उमेरले हाफ सेन्चुरी पार गरिसकेपछि पाको उमेरमा साहित्य क्षेत्रमा पसेका भएतापनि उनको साहित्यप्रतिको अभिरुचि बाल्यकालदेखिकै हो। तर अभिरुचि हुँदाहुँदै पनि उनी तिनलाई दबाउँदै अघि बढे। तब न उनी प्राविधिक पाटामा भन्दा प्राकृतिक छटामा रमाउने भए। अङ्कमा भन्दा अक्षरमा रम्ने भए।
कोर्सका पुस्तकका पानाहरुका बीच बीचमा साहित्यिक पुस्तकका पानामा हराउने भए। सामाजिक प्रतिष्ठा र पारिवारिक दायित्वले डोर्याएर उनलाई इन्जिनियर र बैंकर त बनायो तर अतृप्त मनको आवाज यति बुलन्द बनिदियो कि आखिरकार जीवनको उत्तरार्धमा उनलाई साहित्यकार बनाइछाड्यो।
यो उनको प्रारब्ध भनुँ या दृढनिश्चय! जे होस्, यही कारण नेपाली साहित्य जगतमा एउटा आसलाग्दा सर्जकले भने प्रवेश पायो।
वि.सं. २०२४ मा पिता प्रभु भक्त जोशी र माता छोरीनानी जोशीका कोखबाट जन्मिएका विक्रम भक्त जोशीले आफ्नो प्रारम्भिक शिक्षा ललितपुरको मानभवन स्थित आदर्श विद्या मन्दिर विद्यालय तथा काठमाडौं लैनचौर स्थित अमृत साइन्स कलेजबाट प्राप्त गरे।
छात्रवृत्तिमा सिभिल इन्जिनियरिङ् पढ्न भारत जाँदै गर्दा उनको उमेरले १९ औं खुड्किलो टेक्दै थियो। सिभिल इन्जिनियर बनेर फर्केपछि छोटो समय सडक विभाग र मेलम्ची खानेपानीमा सरकारी कर्मचारी भई काम गरेका उनी व्यवस्थापनमा स्नातकोत्तर गरेपछि झण्डै २० वर्ष भने एनआईडिसीमा काम गरे।
एआईडिसी संस्थानका रुपमा स्थापित त्यस संस्था पछि बैंकमा रुपान्तरित हुँदा ऊ आफैपनि बैंंकरमा रुपान्तरित भए। तर, यो रुपान्तरणले उनलाई अर्को रुपान्तरणका लागि तयार बनायो, जब यस संस्थाले उनलाई स्वेच्छिक अवकाशको मौका दियो।
बस्, उनी एक आसलाग्दा साहित्यकारमा रुपान्तरण हुने क्रम यहीँबाट शुरु भयो। र, हामी देख्न सक्छौं कि यो क्रम जारी छ। जब हामी देख्छौं अनि सुन्छौं उनका लेखनका चर्चा, उनको पुस्तकको चर्चा, जुन लोभलाग्दो छ।
विसं. २०७९ मा प्रकाशित उनको निकथा सङ्ग्रह ’चोभार ब्लुज’ले सोही वर्षको साहित्यपोस्ट उत्तम आख्यान पुरस्कारको अन्तिम तीनको सूचीमा आफ्नो नाम दर्ज गर्न सफल भयो। पुस्तक वार्ता, समीक्षा र समालोचनाहरुमा सकारात्मक प्रतिक्रिया ओइरियो।
एउटा डेब्यू राइटरका लागि यो भन्दा सुखद क्षण अरु के होला र ? जब लेखकलाई आफ्नो लेखकीय गुणवत्ताको बोध हुन्छ, पाठकद्वारा स्विकारिएको बोध हुन्छ, उनका लागि यो भन्दा सुखद अनुभूति अरु के होला र?
यसरी ’चोभार ब्लुज’ले उनलाई जसरी व्यापक चर्चा दिलायो, त्यसरी नैं यसै वर्ष प्रकाशित उनको बालचित्रकथा ’बेखामान र राक्षस’ले उनलाई बालसाहित्यमा समेत परिचय दिलाउन मद्दत पुर्यायो। यस अर्थमा साहित्य क्षेत्रमा प्रवेश गरेको ५–६ वर्षभित्र प्रौढसाहित्य र बालसाहित्यमा आफ्नो सबल उपस्थिति जनाउन सक्नु उनको सफल र सुखद प्रवेशको द्योतक हो भन्न सकिन्छ।
तब न भन्न सकिन्छ कि उनी अवकाशपछि गर्जगुमानविहीन गतिशील छन्। ऊ भन्छ, ’म जिन्दगीको दोश्रो इनिङ खेल्दैछु’। हो, उनी एक उत्कृष्ट खेल खेल्दैछन्। आफूलाई परिष्कृत गर्दैछन्।
आफ्ना साहित्यका पाटोलाई निखार्न कुनै कसर बाँकी राखेका छैनन्। त्यसैले त प्राविधिक र व्यवस्थापन ब्याकग्राउन्डबाट आएका उनी साहित्यका नौला नजानेका आयाम खोज्ने सिलसिलामा अङ्ग्रेजी साहित्यमा स्नातकोत्तर गर्न पुगे।
विभिन्न साहित्यिक कार्यक्रमहरुमा उपस्थिति जनाएर नेपाली साहित्यको वर्तमान अवस्थितिलाई पर्गेल्ने मेसो चलाए। अग्रज साहित्यकारहरुसँगको सामीप्यमा सुन्दर लेखनका ’टिप्स् एण्ड ट्रिक्स’ सिक्ने अवसर देखे। साँच्चै पनि जीवनको उत्तरार्धमा देखिएको उनको साहित्यप्रतिको लगाव र लगन लाजबाब छ।
यस्तोमा यो लाग्नु स्वाभाविक हो नि, कि उनको लगाव र लगनले उचित न्याय पाओस्। उनको नौलो कथा भन्ने तरीकालाई सबैले सराओस्। यात्राका यथार्थवादी भ्रमण र स्वैरकल्पना अनि मिथकका अतियथार्थवादी चित्रण बीच स्निग्ध तारतम्य मिलाउँदै बनेको ’निकथा’रुपी नवविधालाई नेपाली साहित्यजगतले स्विकारोस्।
यस्तोमा यो लाग्नु स्वाभाविक हो... यही कि उनको लगाव र लगनले उचित न्याय पाओस्। नामी साप्ताहिक परिवारका तर्फबाट हार्दिक शुभकामना !
बिक्रम भक्त जोशी-मनदेखि मनसम्म गरिने अन्तरमनको यात्रा
मान्छेको जीवनमा चाल र लेखनको रफ्तार एउटै हुन सक्तैन तर लेखनले जीवनको गति खोजिरहन्छ। जब जीवन गतिशील हुन्छ त्यसले लेखनमा अरु स्वाद थप्छ। जस्तो पानी हुन्छ, पानीको रंगजस्तै यात्रा हुन्छ।
जस्तो घाम हुन्छ, घाम जस्तै तातो र मिठासपूर्ण सारथि हुन्छ। ई सबै कुरा सृजनधर्मी बिक्रम भक्त जोशीको लेखनमा पर्याप्त पाइन्छ। यदि उनका गतिज-लेखन पानामा नपोखिँदो हो त यति धेरै यात्रा उन्मादमै सकिन्थ्यो वा गुम्सिन्थ्यो।
यात्रा त दुई किसिमका हुन्छन्, पाइला पाइलाको यात्रा अनि मनदेखि मनसम्म गरिने अन्तरमनको यात्रा। ई दुवै यात्राका साक्षी हुन्, बिक्रम भक्त जोशी।
उनले साहित्यमा निकथा जस्तो नयाँ विषय ल्याए जसमार्फत् उनले घुमेका, भोगेका अनि भोगेर पाएका ती स्वीकृतिलाई कागजमा उतारेका छन्, ’चोभार ब्लुज’मा। ’चोभार ब्लुज’ नेपाली साहित्य र रचनाको एक महत्वपूर्ण कृति हो । सौभाग्यवश हामी यस कृतिको प्रकाशनका वेलाका साक्षी पनि रह्यौँ, साक्ष्य पनि भयौँ।
यो कृति प्रकाशनपछि साहित्यिक जगतमा आएको एउटा रोमान्सेली हलचलका निम्ति प्रिय लेखक बिक्रम भक्तलाई उनको सशक्त कलमका कारण नेपाली पाठकले सदैव सम्झनेछ। बधाई, प्रिय लेखक बिक्रम भक्तलाई अनि उनको कृति ’चोभार ब्लुज’लाई...
–प्रकाश सायमी
(शव्दकर्मी)
गोंधुली संसार
भैंसेपाटी, ललितपुर।
नामी साप्ताहिक वाट साभार