काठमाडौ । नेपाल पौडी संघको निमन्त्रणामा अन्तर्राष्ट्रिय पौडी महासंघ (वल्र्ड एक्वाटिक्स) का अध्यक्ष क्याप्टेन हुसेन अल मुसलम नेपाल भ्रमणमा आउँदै छन्।
नेपालको पौडी खेलको विकास र विस्तार गर्ने क्रममा विभिन्न देशको भ्रमणमा रहेका अध्यक्ष हुसेनले नेपालमा पौडी तथा एक्वाटिक्स खेलको विकासका बारेमा जानकारी लिने र पौडी तथा एक्वेटिक्स खेलको विकासलाई कसरी अझै अगाडी बढाउन सकिन्छ भन्ने बारेमा पौडी संघका पदाधिकारीहरु र सम्वन्धितसँग छलफल गर्ने कार्यक्रम रहेको छ।
अध्यक्ष हुसेन यहि कार्तिक २१ गते मंगलबार विहान ८ बजे काठमाडौ अवतरण गर्ने कार्यक्रम रहेको नेपाल पौडी संघका अध्यक्ष अशोक बज्राचार्यले जानकारी गराएका छन्।
अध्यक्ष हुसेनको भ्रमणले नेपालका पौडी खेल तथा त्यससँग सम्वन्धित अन्य खेलको विकासमा सहयोग पुग्ने अध्यक्ष बज्राचार्यले बताए।
यसै क्रममा नेपालमा पौडी खेल लगायत एक्वाटिक्स खेलको विकासका लागि महासंघका कोचिङ्ग एडभाईजर जेम्स गिब्सन र मिस पर्निल ब्लुम (ओलम्पिक तथा वल्र्ड च्याम्पियन) पनि भोलि सोमबार नेपाल आउँदैछन्। उनीहरु सोमबार विहान ८ बजे नेपाल आउने कार्यतालिका रहेको छ।
उनीहरुले सोमबार र मंगलबार दुई दिन नेपालका पौडी प्रशिक्षकहरुलाई प्रशिक्षण दिने कार्यक्रम रहेको छ। उक्त अवसरमा नेपाली प्रशिक्षकहरुलाई कोचिङ्ग स्किल डेभलपमेन्ट सम्वन्धि सैद्धान्तिक तथा प्रयोगात्मक प्रशिक्षण प्रदान गर्ने छन्।
सो कार्यक्रममा नेपालका प्रमुख पौडीवाजहरुले पनि सहभागिता जनाउने पौडी संघका अध्यक्ष बज्राचार्यले जानकारी गराए।
प्रकाशित मिति: आइतबार, कात्तिक १९, २०८० १८:५८