कपाल काट्नका लागि म शैलुनमा बसिरहेको थिएँ। शायद त्यो दिन तिहारको भाइटीकाको दिन थियो। मलाई त्यसदिन भाइटीका भनेर थाहा पनि थिएन। गाउँठाउँ थियो। नोकरीको सिलसिलामा पूर्वी नेपालको भोजपुरमा थिएँ।
भर्खर-भर्खर खुलेका शैलुनमा अलि भीडभाड नै थियो। भारतीय दाजुभाइको त्यो शैलुनमा हैकम थियो। भीड भएको कारण शैलुनका भैंयाले "सर एकछिन पर्खनुस् है! म झट्ट गरेर चट्ट तपाईको हेअर स्टाइल बनाइहाल्छु" भन्दै थियो!
म पनि मख्खै परेको थिएँ-"मखमली फूल जस्तै"। सवैतिर तिहारको रमझम अनि भाइटीकाको माहोल। म भने, विरानो गाउँठाउँमा घर जान नपाएर घर सम्झेर शैलुनमा पालो कुरेर बसेको थिए। कपाल काट्ने भैंयाले "सरको पालो आयो" भनेपछि झसङ्ग भएँ। यथार्थमा आए। कपाल काट्ने सुरसार भयो। मेरो कपालमा भैंयाको कैची दगुरिसकेको थियो।
त्यो बेला शैलुनको पर्दा एकाएक कसैले खोलेको जस्तो आभाष भयो। म आफ्नै धुनमा थिएँ। एकाएक "ओई..श्याम भाइ ! मैले तिमीलाई कहाँ मात्र खोजिन, तिमी यहाँ पो रहेछौ" भन्दा म झसङ्ग भएँ।
उहाँ त यही पारिगाउँमा पोहोर मात्र विहे गरेर जानुभएकी दिदी मानेको सुष्मा दिदी पो रहिछे। "किन र दिज्यू?" भनेर मैले सोधे। उहाँले गाली गर्दै मलाई भन्नुभयो–"तिमी मलाई दिदी पनि भन्ने अनि बालै मतलव नगरिकन बाल कटाउन बसेको" भनेर फटाफट गाली पो गर्न थाल्नुभयो !
म पनि तीनछक्कै परेँ। दिदी त मानेको हो। तर, तिहारमा भाइटीका लाउने भन्ने हाम्रो कुरा नै भएको थिएन। म ट्वाल्ल परेर बसेको थिएँ। कपाल काट्ने भैंयाले पनि एकछिन कैँची चलाउन बन्द गरे।
त्यतिञ्जेल मेरी आमाले नजन्माएकी परदेशको गाउँठाउँमा जोडिएको भावनाको दिदीले फटाफट व्यागवाट पुष्टकारी निकालेर मेरो मुख खोल भन्दै खुवाउनु भयो र एक ट्याप टिका लगाइदिदै उहाँ "तेरो भिनाजु अलि सिकिस्त हुनुहुन्छ" भन्दै फटाफट हिँडिहाल्नुभयो।
म अलमलमा परिरहेँ। कपाल काट्ने भैंयाले अव कपाल काटौं है भनेर कैँची चलाउन थालेपछि मात्र झसङ्ग भएँ। पोहोर विराटनगरवाट सरुवा भएर भोजपुर आउने दिनमा चिनजान भएको सुष्मा दिज्यू ! उहाँसँग पहिलो भेटमा नै हामी एउटै आमाले जन्माएको छोराछोरी जस्तो घनिष्ठ बनेका थियौं। उहाँकै सहयोगमा भोजपुरमा बस्ने बन्दोबस्त भएको थियो।
केही महिना पश्चात उहाँको पारिगाउँमा विहे भयो। पछि कहिलेकाहीँ उहाँ माइत आउँदा मात्र हाम्रो भेट हुन्थ्यो। त्यो भाइटीकाको दिन पश्चात भोलिपल्ट सुष्मा दिज्यूलाई भेट्न उहाँको पारिगाउँमा पुगे। मेरो दूर्भाग्य !
उहाँ भिनाजुको उपचार गर्नको लागि भारत प्रस्थान गरिसक्नु भएको रहेछ। त्यसपछि, उहाँलाई चाहेर पनि भेट्न सकिएन! सोही बर्ष मेरो पनि भोजपुरवाट काठमाडौंमा पोष्टिङ्ग भयो।
इमेल-चिट्ठी केही नभएको कारण उहाँको थाहा पत्तो पाउन सकेको छैन्। तर पनि, हरेक बर्षको तिहारमा भाइटीकाको दिन मेरी सुष्मा दिज्यूलाई सम्झनुको वाहेक अरु कुनै विकल्प थिएन र छैन पनि।
प्रकाशित मिति: बुधबार, कात्तिक २९, २०८० ०८:५३