म्याग्दी । अनुपम प्राकृतिक सौन्दर्यता, धार्मिक आस्था र मनाेरम दृश्यावलोकनको संगम म्याग्दीको मालिका धुरी पूर्वाधारको विकासकाे पर्खाइमा छ।
मालिका गाउँपालिका-७ बिम र ६ दुखु तथा रघुगंगा गाउँपालिका-६ ठाडाखानीको शिरमा समुन्द्री सतहदेखि ३ हजार ३ सय मिटरको उचाइमा अवस्थित मालिकाबाट हिमशृङखला, पहाडी भूगोल, ग्रामिण वस्तीको मनमोहक दृष्य अवलोकन गर्न सकिन्छ। यहाँ दर्शन र पुजाआजा गरेमा मनोकांक्षा पूरा हुने जनविश्वास छ।
सहज पदमार्ग, आवास, खानेपानी लगायत पूर्वाधारसँगै मालिकाको धार्मिक तथा पर्यटकीय महत्वका बारेमा पर्याप्त प्रचारप्रसार हुन नसक्दा ओझेलमा परेको हो।
मालिकामा पूजाआजाका लागि पुग्ने भक्तजन सत्तल र ओडारमा कष्टप्रद रुपमा रात कटाउन बाध्य छन्। खानेपानी र शौचालयको सुविधा छैन।
बीस भन्दा बढी हिमशृङ्खला, सूर्योदय, म्याग्दीका ३५ भन्दा बढी गाउँ, लालीगुराँस, वन्यजन्तु, पक्षीको अवलोकन गर्न सकिने मालिकाको धार्मिक महत्व छ। दर्शन र पूजाआजा गरेमा मनोकाक्षा पूरा हुने जनविश्वास रहेको छ।
लालीगुराँसको जङ्गलको बीचमा रहेको मालिकादेखि सिस्ने, गुर्जा, मानापाथी, धौलागिरि, नीलगिरि, अन्नपूर्ण, माछापुच्छ्रे, मनास्लुलगायत २० भन्दा बढी हिमशृङ्खला, सूर्योदय, म्याग्दीका अधिकांश बस्तीको अवलोकन गर्न सकिन्छ।
मालिका क्षेत्रको जङ्गलमा पाइने वन्यजन्तु, पंक्षी, विभिन्न प्रजातिका फूल, जडीबुटी र वन पैदावार थप आकर्षणको केन्द्र हो।
प्रकाशित मिति: शनिबार, मंसिर २, २०८० १२:०४