चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा चितवन क्षेत्र नम्वर २ का सांसद रवि लामिछानेले आफ्नो निर्वाचन क्षेत्रको घरदैलो सुरु गरेको छ।
इच्छाकामना गाउँपालिकाको फिस्लिङ बजारबाट शुक्रबारदेखि लामिछानेले घरदैलो सुरु गरेको हो।
उनले पहिलो दिन इच्छाकामना गाउँपालिकाको तोक्दाङ, सिरानगाउँ, नागदह, मायाटार र उपरदाङगढीमा पुगेर स्थानियको गुनासो सुन्नुका साथै आफूले गर्न खोजेका कामबारे जानकारी गराएको होे।
पार्टीको केन्द्रीय कार्यक्रम अनुसार नै तीन दिन सबै सांसद जनताको घरदैलोमा जाने सभापति लामिछानेले बताउँदै उनले घरदैलोका क्रममा आफ्नो क्षेत्रका मतदातालाई बिर्सेको छैन है भने।
‘हाम्रो भोटले चुनाव जित्यो र हरायो भन्नुहोला, उनले भने, हराएको छैन, तपाईहरुको सेवामा खटिएको छु।’ पार्टीले तोकेको समयभन्दा एक दिन अघिदेखि नै आफू घरदैलोमा हिँडेको सभापति लामिछानेले बताए।
‘नागरिकले हिजो गरेको बाचा सम्झाउनुपर्या, हामी जनप्रतिनीधिले नागरिकका आवश्यकता बुझ्नुपर्याे, उनले भने, हाम्रो भेट विकास हो, हामीले गरेका योजना हो। मैले अनुहार देखाएर मात्र त के गर्नु छ र?’ उनले फिस्लिङ शक्तिखोर सडक र इच्छाकामनाको दुर्गम भेग आफ्नो प्रमुख प्राथमिकतामा रहेको बताए।
सो क्रममा स्थानियले सडक, खानेपानी, विद्यालय र शिक्षा स्वास्थ्यका समस्या रहेको भन्दै सांसद लामिछानेलाई बजेट पारिदिन अनुरोध गरेका थिए।
‘घरदैलोमा गत निर्वाचनमा विश्वास गरेर मत दिनुहुने मतदातालाई धन्यवाद दिन्छौँ। साथै हामीले आफ्नो प्रतिबद्धता भुलेका छैनौँ। प्रतिबद्धताअनुसार अगाडि बढिरहेका छौँ, उनले भने।
आज (शनिवार) कालिका नगरपालिकाका विभिन्न क्षेत्रमा घरदैलो कार्यक्रम आयोजना गरिएको सभापति लामिछानेका स्वकीय सचिव प्रकाश सिग्देलले जानकारी दिए।
उनले चार गतेसम्म तीन वटै पालिकाका विभिन्न क्षेत्रमा पुग्ने बताए। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सबै निर्वाचित सांसदले मंसिर २, ३ र ४ गते घरदैलो कार्यक्रम गर्ने निर्णय गरेको छ।
गत मंसिर ४ मा सम्पन्न निर्वाचनमा विजयी गराउने मतदाताहरुको सम्मानमा रास्वपाले घरदैलो कार्यक्रम गरिएको जनाएको छ। रास्वपाले कात्तिक २३ गते बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकको निर्णय अनुसार घरदैलो कार्यक्रम गरेको हो।
२०७९ असार ७ मा स्थापना भएको रास्वपाले ६ महिना नपुग्दै प्रतिनीधिसभा प्रत्यक्षतर्फ ७ र समानुपातिकमा ११ लाख ३० हजार ३४४ मत पाएको थियो।