मुस्ताङ । पछिल्लो एक महिनाको अवधिमा करिब ८० हजार जना पर्यटकले मुस्ताङ भ्रमण गरेका छन्।
दशै तिहार पर्वको बिदाको अवसर पारेर कात्तिकमा मुस्ताङ घुम्ने आन्तरिक पर्यटकको संख्या उल्लेख्य रुपमा बढेको हो।
जिल्ला प्रहरी कार्यालय मुस्ताङको तथ्याङ्क अनुसार कात्तिक महिनामा ७३ हजार ८ सय ७९ जना स्वदेशी र ५ हजार ५०४ जना विदेशी पर्यटकले भ्रमण गरेका हुन्।
घाँसा प्रहरी चौकीले मुस्ताङ भित्रने र लेतेमा बाहिरिने आन्तरिक पर्यटकको तथ्याङ्क राख्ने व्यवस्था मिलाइएको छ। विदेशी पर्यटकको अभिलेख भने अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाको जोमसोम र लोमान्थाङ स्थित कार्यालयले राख्ने गरेका छन्।
कात्तिकमा मुस्ताङमा १३ हजार ९ सय १ वटा सवारी साधनले पर्यटक बोकेर भित्रिएका थिए भने ६ हजार ४०८ मोटरसाइकल, ६ हजार २८९ कार–जीप तथा ७ सय ५० वटा बस मार्फत पर्यटकहरु मुस्ताङ भित्रिएका थिए।
बेनी–जोमसोम सडक मार्गका अलावा पोखरा–जोमसोम हवाई मार्गबाट पनि मुस्ताङमा पर्यटक भित्रिएका थिए। शरदयाम घुमघामका लागि उपयुक्त मानिन्छ । छठ सकिएपछि चिसो बढ्न थालेकाले पर्यटक आगमन घट्दै गएको छ।
उजाड पहाड, हिमाली हावापानी, संस्कृति र जीवनशैली, ताल, गुम्बा, मुक्तिनाथ मन्दिर, गुफाहरु मुस्ताङका आकर्षण हुन्।
मुक्तिनाथ, जोमसोम, कागबेनी, लोमान्थाङ, मार्फा, ठिनी, धुम्बा ताल लगायत मुस्ताङका धार्मिक र पर्यटकीय स्थलमा पर्यटक आगमन पुरानै लयमा फर्किएको होटल व्यवसायीहरुले बताएका छन्।
प्रकाशित मिति: शुक्रबार, मंसिर ८, २०८० १६:१४